काठमाडौं । कुनै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्थे, मुखमा शान्ति प्रक्रिया, मनमा विद्रोह । उनका यस्ता योजनालाई सहकर्मीहरु प्रचण्डपथ भनी सैद्धान्तिक लेप पनि लगाउँथे । सहकर्मी त कहाँ छुटिगए । माओवादी, एकीकृत माओवादी हुँदै माओवादी केन्द्र पुगेका प्रचण्ड भने हिजोआज भन्न थालेका छन् : समाजवादी केन्द्र बनाउने । नेपालमा समाजवाद ल्याउने ।
यही मनसुबा लिएर प्रचण्डले बिहीबार पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई प्रस्ताव राखे : पार्टी एकता गरौं र नेकपा समाजवादी केन्द्र बनाऔं ।’ नेपाल कम्युनिस्ट पार्टी समाजवादी केन्द्र बनाउँदा एकीकृत समाजवादी पनि एकतामा आउने उनको दाबी छ । ०७९ चुनाव वर्ष हो । चुनावका बेला प्रचण्डले अख्तियार गरेको रणनीतिलाई नयाँ प्रचण्डपथ मान्ने हो भने यसभित्र लुकेका चाहनाहरु स्पष्ट बुझ्न सजिलो हुन सक्छ । कम्तिमा पछिल्ला तथ्यहरु यसै भन्छन् ।
माओवादी नेताहरुका अनुसार प्रचण्ड एकीकृत समाजवादीका नेताहरुसँग निरन्तर सम्वादमा छन् । अनि, समाजवादी केन्द्र बनाउने प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उत्रो असहमति छैन । समाजवादी केन्द्र बनाउने छलफलका लागि प्रचण्डले कसैलाई बाँकी छाडेका छैनन् । नेकपा एकता अभियान चलाएका वामदेव गौतम होउन् या धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेताहरु, यी सबैसँग उनले समाजवादी केन्द्र बनाउने प्रस्ताव राखेका छन् ।
तर, यो रातदिनको दौडधुपका पछाडि उनीभित्र नेपालमा समाजवादी केन्द्र बनाउने, अनि समाजवाद ल्याइहाल्ने किसिमको आदर्श चाहनामात्रै लुकेको भने होइन । नेपालमा सत्ताको स्वाद चाल पाउने चनाखा नेताहरुमध्ये प्रचण्ड अग्रपंक्तिमा पर्छन् । सत्ताबाहेक सबै भ्रम भन्ने माओको कथन उनले अर्कै किसिमले बुझेका छन् ।
त्यसैले प्रचण्डले मंसिरको (प्रस्तावित) प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्री हुने चाह लुकाएका छैनन् । ३० वैशाखको स्थानीय चुनाव लगत्तै प्रधानमन्त्रीका लागि लबिइङ थालेका प्रचण्ड ३१ असार र १ साउनसम्म भारतको भ्रमण समेत गरे । नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने पक्षमा रहेका उनले आलोपालो प्रधानमन्त्रीको प्रस्तावलाई ‘शर्त’ जस्तै बनाएका छन् । प्रचण्डको समाजवादी एजेन्डाको पेटबोलीबारे खुलेर माओवादी नेता गिरिराजमणि पोखरेल भन्छन्, ‘हामीलाई टेकेर कांग्रेस पहिलो पार्टी हुने, पावर शेयरिङ चाहिँ नहुने स्वीकार्य छैन । (सरकारमा) कांग्रेसको एकल नेतृत्व सम्भव छैन ।’
तर कांग्रेस सहज रुपमा आलोपालो प्रधानमन्त्रीमा सहमत हुने अवस्था छैन । पाँचदलीय सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्दा सके बहुमत, नभए सबभन्दा ठूलो दल बन्न सकिन्छ भन्नेमा कांग्रेस नेतृत्व ढुक्क जस्तै छ । त्यसैले सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
सत्ता साझेदार दलहरु भने ढुक्क हुन सकेका छैनन् । खासगरी प्रचण्ड र माओवादी केन्द्रका नेताहरुमा चुनावपछि कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर सरकार बन्ने अवस्था नआओस् भन्नेमा बढी सतर्क देखिन्छन् ।
किनकी मतदाताको निर्णयमा ठूलो उथलपुथल भएन भने समानुपातिकतर्फ कांग्रेसले ३८/४० सिट ल्याउँछ भने हालै भएको स्थानीय तहको चुनावको मतले देखाएको छ । अब प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ८० हाराहारी सिट जित्यो भने लोसपा मिलेर सरकार बन्ने अवस्था बन्छ ।
लोसपाले साथ दिँदा पनि सरकार नबन्ने अवस्था सिर्जना गर्न प्रत्यक्षतर्फ सिट बाँडफाँटमै कांग्रेसलाई कस्नुपर्छ भन्ने माओवादी नेताहरुले बुझेका छन् । तर यो यथास्थितिमा सहज छैन ।
स्थानीय तहको चुनावमा माओवादी केन्द्रले पालिका प्रमुखमा जितको संख्या अघिल्लो पटकभन्दा बढाएपनि मत भने घटेको छ । यो यथार्थ माओवादीले आन्तरिक रुपमा मनन गरेको हुनुपर्छ ।
त्यसैले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बनाउन पनि प्रचण्डलाई कांग्रेसबाहेक दलहरुको साथ चाहिएको छ । एकीकृत समाजवादी, नेकपा एकता अभियान र बाबुराम भट्टराईसँग पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने हो भने कांग्रेससँग प्रचण्डको ‘बार्गेनिङ पावर’ बढ्छ । त्यो बेला प्रतिनिधिसभाको धेरै सिट लिने मात्र होइन, आलोपालो प्रधानमन्त्रीमा सहमति गराउन सकिने उनको बझाइ छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल पनि आलोपालो प्रधानमन्त्री अनिवार्य भएको बताउँछन् । भन्छन्, ‘यसका लागि बार्गेनिङ गर्नै पर्दैन ।’
पहिलो वामपन्थी दलको लक्ष्य कति सम्भव ?
पछिल्लो समय एमाले नेताहरुले वाम गठबन्धनका लागि लबिइङ गर्दै आएका छन् । सार्वजनिक रुपमै एमाले नेताहरुले प्रचण्ड र माधवकुमार नेपालको नाम लिएर वाम एकता वा तालमेलमा आउन आग्रह गर्दै आएका छन् ।
तर अघिल्लो चुनावका बेला ६ बुँदे सहमति गर्न जोसिएका प्रचण्ड यसपल्ट उही पाइला हिँड्न किन तयार हुन्थे ? उनी त एमालेको विकल्पमा अर्को वामशक्ति बनाउन चाहेका छन् । उनको यो साहस स्थानीय चुनावपछि अझै बढेको छ ।
नेकपा समाजवादी केन्द्र बनाउने प्रस्तावको उद्देश्य त्यो पनि भएको नेताहरु बताउँछन् । तत्काल पार्टी एकता गर्न सम्भव नभए पार्टी एकता संयोजन समिति बनाउने र एउटै चिह्न लिएर चुनाव लड्ने प्रस्ताव छ । यसो भएमा कांग्रेससँग तालमेल गर्ने र एमालेभन्दा बलियो अर्थात देशको दोस्रो र वामपन्थीमा पहिलो दल बनाउन सकिने प्रचण्डको बुझाइ छ ।
स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिन ९ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने ठूलो सम्भावना छ । भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ ।’
नेताहरुका अनुसार प्रचण्डको यो प्रयासमा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालको साथ छ । उनकै पार्टीका नेताहरु भने यसलाई नेपालको बाध्यता मान्छन् । प्रचण्डमाथि माधव नेपालको परनिर्भरता बढेको भन्दै एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘सिधै देउवासँग गइयो भने धेरै सिट पाइन्छ भन्ने छैन, त्यसैले प्रचण्डसँग टाँसिएका छन् ।’
तर माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गर्दाको दिन एकीकृत समाजवादीका कति नेता कार्यकर्ता उनीसँग रहन्छन् भन्ने मुख्य प्रश्न भएको नेताहरु बताउँछन् । ‘हिजो पनि माधव नेपालले प्रचण्डलाई पार्टी बुझाउने भए भनेर धेरै नेता कार्यकर्ता हामीतिर आएनन्,’ एक पदाधिकारी भन्छन्, ‘आज पनि माओवादीसँग पार्टी एकता गर्ने सहमति गर्ने हो भने ठूलो हिस्सा एमालेमा फर्किन्छ ।’
स्वयं झलनाथ खनाल पार्टी एकताको पक्षमा छैनन् । त्यो छनक पाएपछि प्रचण्डले हालसालै खनाल र उनी निकट नेताहरुलाई भेटेका थिए । तर खनाल अझै एकताका लागि तयार नभएको माओवादी केन्द्रका एक नेता बताउँछन् । भन्छन्, ‘उहाँले पार्टी एकता होइन, मोर्चा भन्नुभएको छ ।’
नेताहरुका अनुसार एकता वा मोर्चा बनाउँदा पनि एमालेलाई जितेर दोस्रो पार्टी बन्न सहज भने छैन । किनकी समानुपातिकतर्फ एमाले र कांग्रेसको भोट हाराहारी हो । अर्थात मतदाताको निर्णयमा ठूलो उथलपुथल भएन भने समानुपातिकतर्फ एमालेले पनि ३८/४० सिट ल्याउँछ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल हुँदा पनि एमालेले आफ्नो बलियो पकड भएका केही ठाउँमा प्रत्यक्षतर्फ चुनाव जित्छ । त्यसलाई स्वीकार गर्दै माओवादी केन्द्रका नेता गजुरेल भन्छन्, ‘हामी मिल्दा पनि एमालेभन्दा ठूलो पार्टी हुन सहज छैन ।’अनलाइन खबरबाट