काठमाडौं : सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगको सुझाव अनुसार नै मंसिर पहिलो साता चुनाव गर्ने गरी मिति तोक्ने तयारीमा सरकार जुटेको हो ।
सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले त आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने ठोकुवा नै गरे । नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनका अनुसार सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्नेछ ।
उनले भनेका छन्, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । औपचारिक रुपमा । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् ।’
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केही दिनमै चुनावको मिति घोषणा हुने बताएका थिए । प्रचण्डका अनुसार उनलाई बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बिहीबार नै चुनावको मिति घोषणा गर्ने तयारी गरेका थिए । ‘शेरबहादुर देउवाले मलाई फोन गरेर चुनावको मिति घोषणा गर्ने कुरा गर्नुभएको थियो । मैले नागरिकता विधेयक पारित गरेर मात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुन्छ, पख्नुस् भनेको छु’ बिहीबार प्रचण्डले भनेका थिए । उनका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्नेछ ।