☰ open Loading... 17 November 2024|  

माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने नबन्ने बारे सूचना माग
  | १७ श्रावण २०७९, मंगलवार ०५:११

अछाम । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणबारे अन्यौलता कायम रहेको बेला आयोजना सञ्चालन हुने अछामको तुर्माखाँद गाउँपालिकाले यसबारे स्पष्ट पार्न जिएमआरलाई पत्र लेखेको छ । जिएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेड चाकुपाट १० ललितपुरलाई पत्र लेख्दै आयोजना बन्ने नबन्नेबारे राष्ट्रिय तथा स्थानीय स्तरमा अन्योल सिर्जना भएकोले यसबारे सूचना उपलब्ध गराउन अनुरोध गरेको छ ।

विगत लामो समयदेखि त्यस कम्पनीबाट राष्ट्रिय महत्त्वको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना कार्यान्वयन गर्न प्रस्तावित गरिएको भए पनि हालसम्म सो आयोजनाको कार्य सञ्चालन भएको नदेखिएको पत्रमा उल्लेख छ ।

अतः उक्त परियोजना सञ्चालन हुने वा नहुने सम्बन्धमा सम्बन्धित सरोकारवाला समेत आम जनमानसमा द्विविधा उत्पन्न भएको हुँदा सो विषयमा नेपाल सरकार र सम्बद्ध परियोजना सञ्चालक जिएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडलाई आवश्यक समन्वय गरि भरपर्दो सूचना उपलब्ध गराउन भनिएको छ ।

तुर्माखाँद गाउँपालिका गाउँसभाको गत असार ३१ गतेको सभाले परियोजना सञ्चालन हुने वा नहुनेबारे सूचना माग्ने निर्णय गरेको र सोही अनुसार पत्र पठाइएको गाउँपालिकाका अध्यक्ष डम्बर बिसीलेबताए ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढाले हस्ताक्षर गर्नुभएको पत्रमा ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयलाई बोधार्थ समेत गरिएको छ ।

सन् २०२४ मा परियोजना सम्पन्न गर्ने गरि परियोजना विकास सम्झौता गरिएकोमा जिएमआर कम्पनीले हालसम्म वित्तीय व्यवस्थापन समेत नगरेको बताइएको छ । वित्तीय व्यवस्थापनका लागि नेपाल सरकारले २ पटक एकरएक वर्षका लागि म्याद थप गरिसकेको छ ।कतिपयले मुआब्जा पाएपनि अधिकांशले मुआब्जा समेत नपाएको स्थानीय तुलाराम बिसीको भनाइ छ ।