कर्णालीबाट बालुवा बोकेर गमगढी आउँदै गरेको ट्याक्टर आइतबार मुगुको छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भयो। दुर्घटनामा परेर ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँच जना गम्भीर घाइते भए। सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुई वटा एम्बुलेन्स भएपनि घाइतेहरुलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो। जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको साता बित्यो। मर्मतमा कसैको ध्यान छैन।
मुगु सदरमुकाम समेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद ग¥यो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटक–पटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन नगरपालिकाले अटेर गर्दै आइरहेको छ। नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले विपद् पूर्व तयारीका लागि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भएपनि कार्यान्वयन गर्न नसकिएको बताए।
‘प्राविधिक कुरा भएकाले एम्बुलेन्सको कुन–कुन पार्टपूर्जामा खरावी आएको हो हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘चालकलाई बनाउन भनेका छौं, पाँच महिनादेखि त्यसै थन्किएको छ।’ एम्बुलेन्स भन्दा पहिले किनिएको नगरपालिका प्रमुख चढ्ने गाडी भने दुरुस्त छ। स्थानीय गेहेन्द्रशम्शेर मल्लका अनुसार सदरमुकाममा रहेका चार वटै एम्बुलेन्सहरु सञ्चालनमा छैनन्।
‘मेयर चढ्ने गाडी बिग्रिएर थन्किएको हामीले देखेका छैनौं,’ मल्लले भने, ‘बिरामी, सुत्केरी, गर्भवती र अपाङ्गता भएकाहरुलाई सेवा दिनका लागि खरिद गरिएका एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा पनि सरोकारवालाहरुको ध्यान किन जाँदैनन्?’
जिल्ला अस्पताल मुगुका प्रमुख उमेश गौतमका अनुसार जिल्लाभर आठ वटा एम्बुलेन्स छन्। ती मध्ये चार वटा सदरमुकामका हुन्। जिल्ला अस्पताल, रेडक्रस सोसाइटी, छायानाथ रारा नगरपालिका र एक सहकारीसँग एक–एक एम्बुलेन्स छन्। ‘अरु एम्बुलेन्सहरु थन्किएको महिनौं भए, जिल्ला अस्पतालको एक साता भयो,’ उनले भने, ‘नेपालगञ्जबाट सामान आउने बित्तिकै सञ्चालनमा आउँछ।’ उनले नगरपालिका, रेडक्रस र सहकारीलाई पनि एम्बुलेन्स बनाउन भनिएको बताए। ‘बर्खाको समय छ, विपद्को पूर्व तयारीका लागि पनि एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ भनेर भनेका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि बनाउने छाँटकाँट देखाएका छैनन्।’
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी २२ वर्षीया पार्वती बिकले बिहीबार अस्पताल जाँदाजाँदै बाटोमै बच्चालाई जन्म दिइन्। एम्बुलेन्स नहुँदा चौरजहारी अस्पतालसम्म हिँडेरै जान लागेकी उनले बाटोमै बच्चालाई जन्म दिएको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। गाउँमा एम्बुलेन्स भइदिएको भए उनले यसरी बाटोमा बच्चा जन्माउनुपर्ने अवस्था हुन्थेन। ‘अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्स छैनन्, भएका पनि बोलाउँदा समयमा आउँदैनन्,’ महिला स्वास्थ्य स्वयम्सेविका तुलसी गिरीले भनिन्, ‘अस्पताल जाँदाजाँदै यसैगरी बाटोमा बच्चा जन्माउने आमाको संख्या धेरै छन्।’
कालिकोटको खाडाचक्र नगरपालिकाको एम्बुलेन्स सञ्चालनमा नआएको सात महिना भयो। खाडाचक्र नगरपालिकाको एम्बुलेन्स बाँकेको नेपालगञ्जमा मर्मतका लागि राखिएको छ। एम्बुलेन्स किनेको तीन वर्ष भयो। यो अवधिमा आधाभन्दा बढी समय एम्बुलेन्स बनाउन मै समय खेर गयो। ‘थन्किएको सात महिनापछि अहिले बल्ल बनाउन नेपालगञ्ज पठाइका छौं,’ खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुुवालले भने, ‘बनेर कहिले आउने हो पत्तो छैन।’
रेडक्रस सोसाइटी कालिकोटको एम्बुलेन्स जिल्ला अस्पतालको बाहिर थन्किएको नौ वर्ष भयो। सामान्य खर्चमा मर्मत हुने एम्बुलेन्स नौ वर्षदेखि त्यतिकै थन्किँदा अहिले पाटपूर्जाहरु पनि चोरी भइसकेका छन्। रेडक्रस सोसाइटी कालिकोटका सभापति बलप्रसाद सञ्ज्यालले धेरै पटक बिक्रिएका कारण मर्मत गर्न नसकेर थन्किएको बताए।
तिलागुफा नगरपालिकाले दुई वर्षअघि राजस्व छुटमा एम्वुलेन्स खरिद ग¥यो। दुई वर्षमै एम्बुलेन्स नचल्ने गरेर थन्किएको छ। नगरपालिकाले भइरहेको एम्बुलेन्सलाई बनाउने भन्दा पनि नयाँ खरिद गर्नेमा लागेको छ। ‘तिलागुफाका लागि एम्बुलेन्सको आवश्यकता छ,’ नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने, ‘यो वर्ष पनि नयाँ एम्वुलेन्स खरिद गर्ने तयारीमा छौं।’ उनले राचुलीमा रहेको नगर अस्पताल र चिलखाया स्वास्थ्य चौकीका दुई वटा एम्बुलेन्स खरिद गर्ने तयारी भइरहेको उनले बताए।
रास्कोट नगरपालिकाले तीन वर्षअघि खरिद गरेको एम्बुलेन्स रास्कोट सामुदायिक अस्पताल गौतुकोटमा थन्किएको छ। असारयता सडक अवरुद्घ भएर एम्बुलेन्स चलेको छैन।
पलाता, महावै र नरहरिनाथले एम्बुलेन्स किनेका छैनन्। तर, जनप्रतिनिधिहरुका लागि सुविधा सम्पन्न गाडीहरु छन्। नरहरिनाथ, पलाता र शुभकालिका गाउँपालिकाका अध्यक्षले स्कारपियो गाडी खरिद गरेका छन्। जनप्रतिनिधिका गाडीहरु बिग्रिएको भए तत्काल बनिसक्थे। नबने नयाँ खरिद गर्थे। जनताको सेवाका लागि यहाँ सोचिदिने कोही छैनन्। ‘जनतालाई अस्पताल जानका लागि एम्बुलेन्स छैन्, हामीले जिताएका नेताहरु करोडौंको गाडी चढ्छन्,’ कालिकोटका नरहरि आचार्यले भने, ‘गाडी नपुगेका पालिकाका प्रमुखहरु चढ्न गाडी किन्न मिल्ने, जनताका लागि एम्बुलेन्स किन्न नमिल्ने हुन्छ र?’
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। प्रतिष्ठानसँग तीन वटा एम्बुलेन्स छन्। दुई वटा प्रयोगमा छन्। जुम्लाका छ वटा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेका छन्। पातारासी, कनकासुन्दरी, तीला, तातापानी, हिमा र सिंजा गाउँपालिकाले तीन वर्षअघि खरिद गरेका एम्बुलेन्सहरु कहिले काही चल्छन्। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले गुठीचौर र चन्दननाथ नगरपालिकाले नयाँ एम्बुलेन्स खरिदको चरणमा रहेको बताइन्।
जाजरकोटको बारेकोट गाउँपालिकामा एउटा एम्बुलेन्स पनि छैन। जनप्रतिनिधिहरु भने स्कारपियोमा सवार गर्छन्। यहाँ नागरिक बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता छ। सदरमुकाम खलंगाबाट एम्बुलेन्स या गाडी आधा बाटोसम्म मगाएर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहोन प्रकाश गिरीले बताए।
‘वर्षासंगै पालिका जाने प्रमुख सडक अवरुद्ध हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, ‘पालिकामा एम्बुलेन्स पनि छैन।’ उनले यसपालि भारतीय राजदूतावास मार्फत एम्बुलेन्स ल्याउने तयारी भइरहेको बताए। जाजरकोटकै शिवालय गाउँपालिकाको एम्बुलेन्स चार दिनदेखि नियमित मर्मतको लागि सुर्खेतमा रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रकुमार चन्दले बताए।
दैलेखको ठाटीकाँध गाउँपालिकामा दुई वटा एम्बुलेन्स मध्ये एउटा एक वर्ष अघिदेखि बिग्रिएर थन्किएको छ। एउटा नयाँ जनप्रतिनिधिहरुले सञ्चालनमा ल्याएका छन्। वडामा जाने सडक खोला र पहिरोले अवरुद्ध भएपछि पालिका मुकामबाटै बिरामी दैलेख बजार र सुर्खेत लैजान एम्बुलेन्स प्रयोग गरिने ठाटीकाँध गाउँपालिका दैलेखका अध्यक्ष रक्षाबहादुर शाहीले बताए। वर्षात्मा सडक बिक्रिएका कारण टाठीकाँधका प्रायः वडामा गाडी चल्दैनन्। जसका कारण बिरामीहरुलाई बोकेरै पालिकासम्म ल्याउनुपर्ने बाध्यता रहेको छ।
नौमुले गाउँपालिकामा पनि सास्तीपूर्ण रुपमा एम्बुलेन्स पुग्ने गरेको छ। सडकको बिजोग अवस्थाले एम्वुलेन्समा आउने बिरामीहरु झन् बिरामी हुने गर्दछन्। नौमुलेको प्रायः वडाहरुमा वर्षात्मा सवारी साधन पुग्दैनन्।
६ वडा रहेको महावु गाउँपालिकामा ३, ५ र ६ नम्वर वडामा खोला बढेर वर्षात्मा गाडीहरु चल्दैनन्। प्रायः तीनदेखि चार महिना खोला र पहिरोका कारण वडाका सडकमा गाडी गुड्दैनन्। जसका कारण विरामीहरुलाई बोकेरै एम्वुलेन्स पुग्ने ठाउँसम्म लगिन्छ। महावुका वडाहरुमा खोला बढी पर्ने भएकाले वर्षात्मा गाडी चल्न नसकेका हुन्। पालिकासम्म एम्बुलेन्स चल्ने भएपनि केही वडामा ठुला खोला र पहिरोले एम्बुलेन्स चल्न नसकेको महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले बताईन्।
दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेको एम्बुलेन्स बिग्रेको अवस्थामा छ। छिमेकी पालिकाबाट एम्बुलेन्स बोलाएर बिरामी अस्पताल लैजानुपर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाबासीहरुले बताए।
गुराँस गाउँपालिकाको प्रायः वडामा वर्षात्मा एम्बुलेन्स जाँदैनन्। कर्णाली राजमार्ग र धरमपोखरा जाने सडकका कारण बिरामीहरुलाई एम्बुलेन्ससम्म पुग्न समय धेरै खर्चनु पदैन। गुरासँमा दुई वटा एम्बुलेन्स गाउँपालिका आफैंले सञ्चालनमा ल्याएको छ। दैलेखका सबै पालिकालाई एम्बुलेन्स वर्षात्को बेला हुनसक्ने सम्भावित घटनाहरुलाई हेरेर तयारी अवस्थामा राख्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालाले बताए।