☰ open Loading... 7 September 2024|  

सशस्त्र प्रहरी रासन घोटला : गणपति विष्ट जिम्मेवारीबाट हटे
  | ७ भाद्र २०७९, मंगलवार ०५:३५

दार्चुला । रासन भत्तामा घोटला गरेको आरोप लागेका सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुला खलंगाका गणपति त्रिभुवन विष्टमाथि छानबिन सुरु भएको छ । विष्टलाई हेडक्वार्टर तानेर छानबिन सुरु गरेको छ । उनलाई केही दिन पहिले नै हेडक्वार्डर झिकाइएको हो ।

एसपी विष्टलाई गणको जिम्मेवारीबाट हटाएर छानबिन भइरहेको छ । यसअघि नै विष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टीकरण सोधेको थियो । बाहिनीबाट स्पष्टीकरणसहितको सम्पूर्ण फाइल हेडक्वाटर झिकाइएको हो । एसएसपी पुरुषोत्तम थापाको कमाण्डमा छानबिन समिति गठन गरिएको होे । यसअघि एसपी विष्टले रासनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बल नम्बर २५ चण्डीका गण पर्वत दरबन्दी भई हाल सशस्त्र नम्बर ४४ गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो ।

हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् । साहुमाथि संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप लागेको छ । राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत चुहाएको आरोप उनीमाथि लागेको हो । तर, उनले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए । हवल्दारलाई कारबाही गरी एसपीलाई जोगाएको आरोप लगाएको भन्दै चौतर्फी विरोधपछि सशस्त्रले एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरेकोे हो ।

गणमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एकपटक बिदामा छाड्न सकिने प्रावधान छ । गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकैपटक १ सय २२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप उनीमाथि लागेको छ । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेशसिंह साहु दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन् । २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत साहु एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । तर, दार्चुलाको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका हुन् ।