☰ open Loading... 20 September 2024|  

निर्वाचनको तयारी तीव्र
  | ११ भाद्र २०७९, शनिबार ०५:२१

सुर्खेत – आगामी ४ मंसिरमा एकै चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र पारिएको छ । सरकारले निर्वाचनको मिति तोेकेसँगै आवश्यक तयारी थालेको निर्वाचन आयोगले चुनावपूर्वका कामको कार्यतालिका बनाएर अघि बढेको हो । अहिले आयोगका जिल्ला कार्यालयहरूले मतदाता नामावली अद्यावधिकको कार्य सुरु गर्न लागेका छन् । कार्यतालिका अनुसार भदौ १२ गते नामावली प्रकाशन गरेर भदौ १९ गतेसम्म मतदाता नामावली अद्यावधिक र दाबी विरोधको समय तय गरिएको छ । मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने र नामावली गल्तीरहित गराउनेतर्फ ध्यान केन्द्रित गरिएको कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । यसै विषयमा प्रदेश निर्वाचन कार्यालयले बिहीवार सुर्खेतस्थित राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेको छ । प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावलीको त्रुटि सच्याउने काम सुरु हुने भएकाले यसमा प्रभावकारी रूपमा आ–आफ्नो ठाउँबाट सहजीकरण गर्न आग्रह गरेको चालिसेले जनाए । निर्वाचन कार्यालयले सुर्खेतका नौ वटै स्थानीय तहमा मतदाता नामावली दावी विरोध कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग आवश्यक छलफल र समन्वय गरेको हो ।

निर्वाचन अधिकारी चालिसेका अनुसार भदौ १२ गते सम्बन्धित स्थानीय तहका वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमार्फत मतदाता नामावली प्रकाशन गरिने छ । भदौ १३ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा रहेको गल्ती सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, सोही दिन मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिइ नाम समावेश गरेको भए विरोध उजुरी दिन पाइने छ । मतदाताको नामावली एक स्थानभन्दा बढीमा भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिने समय पनि छुट्याइएको छ । भदौ १३ गतेदेखि १६ गतेसम्म नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउने र यस्तो विवरण स्थानीय पञ्जीकरणबाट प्राप्त गर्ने बताइएको छ । त्यस्तै, उजुरी परेका मतदाताहरूलाई प्रमाणसहित सफाइको मौका दिइनेसमेत निर्वाचन कार्यालयले जनाएको छ । भदौ १३ गतेदेखि १७ गतेसम्म स्थानीय पञ्जिकरणबाट प्राप्त विवरणको आधारमा बसाइँसरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाँचबुझ हुनेछ । प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार भदौ १६ गतेदेखि भदौ १७ गतेसम्म उक्त मतदाताहरूको प्रमाणित हुन आएमा नाम हटाउने, १७ देखि १८ गतेसम्म मतदाताले दिएको सफाइको आधारमा मतदाताको नामावलीबाट हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने उल्लेख छ ।

भदौ १८ गते परेका निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने छन् । नामावलीमा भएको गल्ती सच्चाइएको र मतदाता नामावलीबाट नाम हटाइएको सूचना निर्वाचन कार्यालयहरूमा प्रकाशन गरिनेछ । त्यसैगरी, भदौ १९ गते फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको अलग्गै विवरण तयार गरिने बताइएको छ । जिल्लामा विवरण अद्यावधिक सम्पन्न भएपश्चात आयोगमा पठाइने प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए । मतदाता नामावली अद्यावधिक र दाबी विरोधसमेत रहेकोले यस समयमा निर्वाचन आयोगले राजनीतिक दलहरू तथा स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ । स्थानीय जनप्रतिनिधिसँग समन्वय र सहकार्य गर्दा नामावली अद्यावधिकमा सहज हुने निर्वाचन कार्यालयको अपेक्षा छ । यो अवधिमा नयाँ मतदाता नामावली संकलन भने हुने छैन ।

सुर्खेतमा दुई लाख ४७ हजार मतदाता
प्रदेश निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार सुर्खेतमा दुई लाख ४७ हजार सात सय ४० मतदाता रहेका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पुरुषभन्दा महिला मतदाताको संख्या झन्डै सात हजार बढी छ । यहाँ एक लाख २७ हजार २६ जना महिला र एक लाख २० हजार सात सय १४ जना पुरुष मतदाता छन् । गएको स्थानीय तह निर्वाचनमा सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ मतदाता थिए । त्यसयता जिल्लामा करिब १० हजार मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार स्थानीय चुनावमा सुर्खेतमा एक सय ३८ मतदानस्थल र दुई सय ९१ मतदान केन्द्र तोकिएका थिए । यसपटक पाँचवटा स्थानमा मतदान केन्द्र र स्थलहरू थप्ने गरी तयारी गरिएको छ । यद्यपि, यसबारे आयोगबाट निर्णय आएपछि मात्रै टुङ्गो लाग्ने उनको भनाइ छ । निर्वाचनका लागि मतदान स्थलको संख्या र सुरक्षा रणनीतिबारे आवश्यक छलफल तथा निर्णयहरू हुन हुन बाँकी रहेको जनाइएको छ ।साझा बिसौनी ।