काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो उम्मेदवारीसँगै सम्पत्ति विवरण पनि पेश गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचन आचारसंहिता अनुसार मनोनयन दर्ता गर्ने उम्मेदवारले उम्मेदवारीसँगै सम्पत्ति विवरण तयार गरी सिलबन्दी रुपमा भरेर पेश गनुपर्नेछ ।
आचारसंहिताअनुसार, उम्मेदवारले आफ्नो वैयत्तिक विवरणसमेत पेश गर्नुपर्नेछ । आयोगले उक्त सम्पत्ति विवरणलाई तीन स्वरुपमा प्रयोग गर्ने जनाएको छ । जसमा उम्मेदवार निर्वाचित भएमा निर्वाचन आयोगले निर्वाचित सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नेछ ।
यस्तै उम्मेदवार निर्वाचित नभएमा तर उसले पछि विवरण फिर्ता मागेमा निर्वाचन अधिकृतको कार्यालयले सम्पत्ति विवरण फिर्ता गर्नेछ । अनि उम्मेदवारले सम्पत्ति विवरण फिर्ता नगरेमा निश्चित अवधिपछि त्यसलाई धुल्याइने भनी आचारसंहितामा उल्लेख गरिएको छ ।