सुर्खेत: वीरेन्द्रनगरमा खानेपानीको चरम संकट छ । बर्खायाममा समेत खानेपानीको हाहाकार हुन्छ । यतिबेला पनि उपभोक्ताका धारामा नियमित पानी आइरहेको छैन । त्यही अभाव टार्न उपत्यकाभित्रै लाखौँ लगानी गरेर निर्माण गरिएका योजना भने सञ्चालन हुन सकेका छैनन् । सरोकारवाला निकायको बेवास्ताका कारण ती योजना तथा खानेपानीका संरचना प्रयोगविहीन भएका हुन् । स्थानीय सरकार र सुर्खेत उपत्यका खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थाले योजनाको मर्मत सुधारमा चासो नदिएको पाइएको हो ।
सबैभन्दा धेरै खानेपानीको समस्या रहेको वीरेन्द्रनगर–१ मा वडा कार्यालयको ठूलो लगानीमा झन्डै दुई वर्षअघि भूमिगत स्रोतको पानी निकाल्न डिप बोरिङ योजना सुरु गरियो । डिप बोरिङ र अन्य संरचना निर्माणको काम सकिएको लामो समय भइसक्दा पनि त्यहाँका नागरिकले पानी पाएका छैनन् । २० लाख लगानी गरिएको यो योजना अहिलेसम्म अलपत्र छ । वडा अध्यक्ष दिनेश खत्री डिप बोरिङ सञ्चालनका लागि सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग पहल भइरहेको बताउँछन् । ‘योजना अलपत्र भएपछि हामीले यसको सञ्चालन व्यवस्थापनका लागि पटक–पटक पहल गरेका छौँ,’ उनले भने, ‘तर काम हुन सकेको छैन ।’ योजना सञ्चालन भए वडा नं. १ का झन्डै दुई हजार पाँच सय घरधुरी र वडा नं. २ का केही बासिन्दासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । वडा अध्यक्ष खत्रीका अनुसार लगानी भएको २० लाखमध्ये बोरिङका लागि १० र विद्युतको थ्री फेज लाइन विस्तारमा १० लाख खर्च भएको हो । योजनाका लागि रकम अपुग भएपछि नगरले समेत केही बजेट लगानी गरेको थियो ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले योजना सञ्चालनका लागि वडासँग समन्वय भइरहेको जनाए । उनका अनुसार त्यहाँ यसअघि जडान गरिएको मोटरले काम नगर्दा समस्या भएको हो । ‘फेरि नयाँ मोटर ल्याएर सञ्चालन गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘मोटर र पाइपको साइज मिलेको छैन ।’ दुुई सय दुुई मिटर गहिराइमा डिप बोरिङ खनिएको छ । तीन लाख लिटर रिजर्भ ट्याङ्की राखेर पानी वितरण गर्ने प्रयोजनका लागि उक्त बोरिङ खनिएको थियो ।
वीरेन्द्रनगर–१० को घुस्रास्थित जनसेवा माध्यमिक विद्यालयको हातामा पनि डिप बोरिङ खनिएको छ । नजिकै आकाशे ट्याङ्की पनि बनाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको एक करोड ५१ लाख, विद्यालयको १२ लाख तथा खानेपानी तथा सिँचाइ निर्देशनालयको पाँच लाख लगानीमा योजना निर्माण गरिएको हो । झन्डै पौने दुई करोड लगानी भइसकेको योजना सञ्चालनमा आएको केही महिनामै बिग्रेको छ । डिप बोरिङबाट निकालिएको पानी संकलन गरेर दुुई सय धारामा पठाउने योजना थियो । मोटर बिग्रेकाले अहिले बोरिङ सञ्चालनमा छैन । वडा अध्यक्ष डिलबहादुुर रखालले यसको सञ्चालन तथा रेखदेखको जिम्मा सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको रहेको जनाए । ‘बोरिङसँगै एक लाख लिटर क्षमता भएको आकाशे ट्याङ्की पनि हाल प्रयोगविहीन बनेको छ,’ उनले भने । बोरिङमार्फत निकालेको पानी ट्याङ्कीमा होल्ड गरेर वितरण गर्ने उद्देश्य भएपनि अहिले योजना सञ्चालन नहुँदा स्थानीय मर्कामा परेका छन् । विद्युतको भोल्टेजका कारण पनि पानी ट्याङ्कीमा राख्न नसकिएको वडा अध्यक्ष रखाल बताउँछन् ।
पानीको समस्या हल गर्न भन्दै लाखौँका योजना निर्माण गरिएपनि आफूहरूको कहर नहटेको स्थानीयको गुनासो छ । वीरेन्द्रनगर–१ सिर्जनाटोलकी खगिसरा गिरी अहिले पनि खानेपानीको चरम अभाव झेलिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘वडाले यति ठूलो बजेट खर्च ग¥यो, योजना सञ्चालनमा आएन । हाम्रा खानेपानीका समस्या जस्ताका त्यस्तै छन् ।’ यी योजनाबाहेक गत आर्थिक वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुुदान दिने गरी विभिन्न वडामा चार वटा बोरिङ खन्न बजेट छुुट्याएको थियो । नगरका आर्थिक प्रशासन शाखा प्रमुुख हरिबहादुुर खत्रीले चालु वर्षमा भने त्यस्ता कार्यक्रम नभएको बताए । यसअघि पनि नगरपालिकाले व्यक्तिभन्दा समुुदायलाई लक्षित गरेर डिप बोरिङ योजनामा बजेट दिने गरेको उनको भनाइ छ ।
कार्यविधि विपरीत डिप बोरिङ
वीरेन्द्रनगर नगरपालिकाले भूमिगत स्रोतको पानी निकाल्न तथा उपयोग गर्न अनुमती पत्र जारी गर्ने सम्बन्धी निर्देशिका, २०७६ जारी गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि नगरपालिकाले डिप बोरिङ खन्दा अनुमती लिनुपर्ने व्यवस्था गरेको छ । तर, अनुुमति नलिएरै मनपरी रूपमा डिप बोरिङ खन्ने गरिएको छ । नगरपालिकाले भौगोलिक क्षेत्रभित्र अनुुमति लिएर मात्र भूूमिगत स्रोतको पानी निकाली प्रयोग गर्न पाइने भनेको छ । अधिकांश डिप बोरिङ मापदण्ड विपरीत छन् । जसको अनुगमन तथा नियमनसमेत हुन सकेको छैन ।
निर्देशिकामा एक घरका लागि मात्रै व्यक्तिगत रूपमा डिप बोरिङ गर्न पाइने भनेता पनि कार्यान्वयन भएको छैन । नगरले निगरानी नगर्दा धमाधम निर्देशिका उल्लंघन भइरहेको हो । निर्माण गरिएका ट्यूबवेल पनि स्वीकृत डिजाइन बमोजिम हुुनुुपर्ने निर्देशिकामा उल्लेख छ । अनुगमन गर्न बनेको समितिबाट स्वीकृत डिजाइन अनुरूप ट्यूबवेल निर्माण भए नभएको जाँच गरेर मात्र अनुमति दिने गरिएको छ । डिप बोरिङ अनुमति प्रदान तथा नियमन कार्य गर्न प्राविधिकसहित तीन सदस्यीय समितिको व्यवस्था छ । नगरपालिकाले २०७६ असार २६ देखि २०७९ असार १२ गतेसम्म एक सय ३४ वटा डिप बोरिङका लागि अनुुमति दिएको छ । उपत्यकामा भने योभन्दा कयैन् धेरै डिप बोरिङ गरिएका छन् । अनुमति लिँदा नगरपालिकाले माटो परीक्षण प्रतिवेदन, संधियारको मञ्जुुरीनामा वडा अध्यक्षको रोहवरमा हुुनुुपर्ने व्यवस्था गरेपनि कार्यान्वयन निकै कम हुने गरेको छ ।
डिप बोरिङ अनुमति लिन नागरिकता, लाल पूर्जा र तिरो तिरेको प्रतिलिपि तथा वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । यी सबै प्रक्रिया पूरा गरेर मात्र अनुमति दिने गरिएको नगरपालिकाका विपद् शाखा प्रमुख खगेन्द्र आचार्यको दाबी छ । उनका अनुसार नगरपालिकाले निर्देशिका बन्नुभन्दा पहिले र त्यसपछि पनि अनुुमति बेगर खन्ने डिप बोरिङकर्तालाई करको दायरामा ल्याउने गरी तयारी भइरेहको छ । विनाअनुमति डिप बोरिङ गर्नेलाई २५ हजारसम्म जरिवाना तोकिएको नगरपालिकाले जनाएको छ । प्राविधिक सल्लाह नै नलिएर जथाभावी डिप बोरिङ गर्दा पानी नआउने समस्यासमेत बढ्दै गएको जनाइएको छ ।साझाबिसौनीबाट