☰ open Loading... 12 March 2025|  

थोरै सिट, धेरै सिफारिस
  | १९ भाद्र २०७९, आईतवार ०५:०६

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थानीय कमिटीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका आकांक्षीहरुको सिफारिस तीव्र बनाएको छ । सकेसम्म सर्वसहमत सिफारिसको प्रयत्न भएपनि अधिकांश ठाउँबाट दुई भन्दा बढी व्यक्तिको नाम सिफारिस भएका छन् । राजधानी काठमाडौंको दश वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिस भएका छन् ।

 

काठमाडौं–२, ३, ५ मा सर्वसहमत सिफारिस भएका छन् । काठमाडौं–२ बाट मणिराम फुँयाल, काठमाडौं–३ बाट कृष्ण राई र काठमाडौं–५ बाट ईश्वर पोखरेलको नाम सर्वसहम सिफारिस भएका छन् । बाँकी निर्वाचन क्षेत्रमा भने दुई वा सो भन्दा बढी सिफारिस भएका छन् । धेरै उम्मेद्वार सिफारिस भएको क्षेत्रको निर्णय पार्टी केन्द्रले गर्नेछ । भदौ ११ गते सकिएको केन्द्रीय कमिटी बैठकले टिकट वितरणको अधिकार सचिवालयलाई दिएको छ ।

 

सचिवालयले सिफारिस भएका नाम मध्येबाट उम्मेद्वार टुंगो लगाउनेछ । पार्टी विभाजनको चोटसहित चुनावमा होमिन लागेको एमालेमा पनि सर्वसहमत सिफारिस हुने संख्या बढी देखिएको छ । अझ राप्रपासँग तालमेल गर्न लागेकाले एमालेमा आकांक्षीको व्यवस्थापन समस्या देखिन्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट चुनाव लड्दै आएका छन् । तालमेल हुँदा यो क्षेत्र एमालेले छोड्नुपर्नेछ ।

 

पशुपति शमशेर जबराका लागि सिन्धुपाल्चोक–२, मा एमाले नेता शेरबहादुर तामाङले उम्मेद्वार बन्न नपाउने समस्या देखिन्छ । नुवाकोट, चितवन, रुपन्देही, मोरङ, बाँके, दैलेख लगायतमा एमाले नेताहरुले राप्रपालाई छोड्नुपर्ने हुन सक्छ । एमालेमा भन्दा धेरै समस्या सत्तारुढ दलहरुमा देखिन्छ ।

 

१६५ निर्वाचन मध्ये कुन दलले कति सिट लिने भन्ने भागबण्डा अझै मिल्न सकेको छैन । तर सत्तारुढ दलका सम्बन्धित कार्य समितिले धमाधम सिफारिस गरिरहेका छन् । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाले सकेसम्म धेरै सिट लिन खोजिरहेका छन् । जनमोर्चा बाहेक बाँकी दलहरुको राष्ट्रिय रुपमै संगठन छ । यसको अर्थ आकांक्षी उम्मेद्वारको संख्या चार गुणा बढी हुने स्वभाविक छ ।

 

गएको स्थानीय चुनावको नतिजा अनुसा, कांग्रेस सवैभन्दा ठूलो दल हो । तसर्थ कांग्रेस नेतृत्वले आफ्ना नेताहरुलाई मनाएर गठबन्धनका दलहरुलाई सिट दिनु सजिलो देखिदैन । कम्तिमा पनि १०० सिट कांग्रेसले लिनुपर्ने नेताहरुले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग अडान लिइरहेका छन् । यसो गर्दा पनि कांग्रेसको सवै निर्वाचन क्षेत्रमा उम्मेद्वार हुनेछैनन् ।

 

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई अहिलेकै हैसियत कायम गर्नुपर्ने चुनौती छ । तसर्थ धेरै भन्दा धेरै सिट संख्या लिने अडानमा छन् । एकीकृत समाजवादीले त उम्मेद्वार सिफारिस कार्यलाई तीव्र पारेको छ । माओवादी केन्द्रबाट पनि सिफारिस हुन थालेको छ भने अन्य दलहरुमा पनि सिफारिस भइरहेको छ । तर सीमित निर्वाचन क्षेत्र भएकाले उम्मेद्वार चयन गर्नु दलहरुका निम्ति फलामको चिउरा सरह बन्ने देखिन्छ ।