काठमाडौंः नेपालमा बुधबार १ हजार २३० डेंगुका बिरामी थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको देखिएको छ । बुधबारसम्म बागमतीमा आठ हजार ३९० जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४७ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु देखिएको छ ।
त्यस्तै, गण्डकीमा २२४, मधेशमा १९८ र कर्णालीमा १६२ जनामा डेंगुको संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउनदेखि डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ । संक्रमण बढ्दै गएकाले सरकारले डेंगुको सेरोटाइपिङको अनुसन्धान गरिरहेको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण भयावह रुपमा वृद्धि भइरहेको छ । मंगलबारसम्म देशभर ९ हजार ८३५ जना संक्रमित थिए ।