☰ open Loading... 26 July 2024|  

कर्णालीमा चार हजार प्रहरी परिचालन गरिदै
  | ९ आश्विन २०७९, आईतवार ०५:३१

सुर्खेत  :  ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो ।

यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ ।

त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ । झैँझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

यसैबीच सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ, नागरिकको सुरक्षाका अधिकार सुनिश्चित गर्न कार्ययोजना बनाइएको छ ।