☰ open Loading... 19 September 2024|  

सल्यान दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुग्यो
  | १५ आश्विन २०७९, शनिबार ०५:१८

सल्यानः गत मङ्गलबार सल्यानमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उनको मृत्यु भएसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

 

सो दुर्घटनामा परी जीपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।

 

रा १ ज ५६३ नम्बरको जीप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन् ।

 

उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन् ।

 

कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन् ।

 

त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच दशैंको सबैतिर रौनक शुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ । एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ ।