☰ open Loading... 26 July 2024|  

डेंगु नियन्त्रणमा सरकार असफलः ईश्वर पोखरेल
  | ३० आश्विन २०७९, आईतवार ०५:२५

डेंगु नियन्त्रणमा सरकार असफलः ईश्वर पोखरेल

 

 

काठमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न वर्तमान सरकार असफल भएको बताएका छन् ।

 

काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरे । आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परीक्षण केन्द्र स्थापना गरेको जानकारी दिए ।

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने पनि बताए । नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको उनले बताए । एमालेलाई मतदान गरि विजयी गराउन वरिष्ठ उपाध्यक्ष पोखरेलले  मतदाताहरुलाई आह्वान गरे ।