☰ open Loading... 20 October 2024|  

आज लक्ष्मी पूजा र कुकुर तिहार
  | ७ कार्तिक २०७९, सोमबार १०:०७

काठमाडौं । कात्तिक कृष्ण चतुर्दशीका दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइदै छ ।

धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान चतुर्दशी र अपराह्न ५ बजेपछि रातभर औंसी तिथि छ । जसकारण कुकुर पुजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

कार्तिक कृष्ण औंसीका दिन धन सम्पतिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरिने चलन छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

नरक चतुर्दशी पनि आजै

कात्तिक कृष्ण चतुर्दशीका दिन सोमबार बिहान झिसमिसेमै पितृ उद्धारका लागि नर्के बगाइने चलन छ । बिहान सूर्य उदाउनुपहिले टपरी वा दुनामा दक्षिण फर्काएर बत्ती राखेर पानीमा बगाउँदा पितृको मोक्ष हुने विश्वास छ । यसरी बालिने बत्ती घरमा रहेका परिवार संख्या जत्ति नै बाल्ने गरिन्छ ।

काग तिहार मनाइयो

आइतबार बिहान कागलाई मिठामिठा खानेकुरा खान दिई पूजा गरेर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीकै दिन आयुर्वेदका प्रणेता धनवन्तरी जयन्ती पनि मनाइएको छ ।

समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाउने गरिन्छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।