☰ open Loading... 26 July 2024|  

दैलेख २ मा २३ वर्षपछि कमब्याकको तयारीमा कांग्रेस
  | ८ कार्तिक २०७९, मंगलवार ०५:२४

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दैलेख क्षेत्र नम्बर २ मा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा पूर्व प्रधानपञ्च, पूर्व पत्रकारदेखि शिक्षकसम्म उत्रिएका छन् । मैदानमा उत्रिएकामध्ये कोहीले हार र जित दुबैको ‘ह्याट्रिक’ पार गरिसकेका छन् भने कोही पहिलो पटक संसदीय निर्वाचनमा ‘डेब्यु’ गर्दैछन् ।

यस्तै शिक्षक, पूर्व गाविस अध्यक्षदेखि एउटै सहकर्मी फरक–फरक पार्टीबाट चुनावी भीडन्तमा छन् । ०७४ मा शुन्य भएको कांग्रेसलाई यो पटक गठबन्धनको बलमा पराजयको बदला लिने अवसर मिलेको छ । ०७४ मा नेकपा माओवादीको साथ पाएको एमालेले तीन वटै क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको थियो ।

यस पटक राप्रपा, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी लगायतका दलहरुले पनि उम्मेदवार उठाएका छन् । यद्यपि प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धन र एमालेबीच हुने देखिन्छ । यो क्षेत्रमा एमाले–कांग्रेसको बलियो जनाधार छ । ०७४ को स्थानीय र संसदीय निर्वाचनमा एमालेले आफ्नो वर्चश्व जमाउँदा कांग्रेस शून्यमा झरेको थियो।

यद्यपि समानुपातिकमा भने कांग्रेसबाट हिमबहादुर शाहीले प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।  यहाँ ०४८ सालयता कांग्रेस–नेपाल मजदुर किसान पार्टी र कांग्रेस–एमालेबीचमा कडा प्रतिस्पर्धा हुँदै आएको छ । ०५२ मा नेमकिपा एमालेमा समाहित हुनुभन्दा पहिला कांग्रेस–नेमकिपाबीच नै प्रतिस्पर्धा हुने गरेको थियो।
अहिले एमालेभित्र प्रभावशाली नेताको राजनीतिक यात्रा नेमकिपाबाट सुरुवात भएको देखिन्छ । यस क्षेत्रमा ०४८ यताका ६ वटा संसदीय चुनावमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीन पटक चुनाव जितेको छ ।
०४८ सालमा कांग्रेसले जित्दा ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो । त्यो बेला एमालेको सांगठनिक अवस्था अहिलेका साना दलहरुकै अवस्थामा थियो । ०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो ।

कांग्रेसले २३ वर्षपछि गुमाएको साख दिक्पालले फर्काउलान् ?

यो क्षेत्रमा दुल्लु, चामुण्डा, आठबीस नगरपालिका तथा ठाँटीकाँध र भैरवी गाउँपालिका पर्दछन् । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिक्पाल शाहीले एमालेका जिल्ला इञ्चार्ज लक्ष्मीप्रसाद पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

यहाँ कांग्रेसले २३ वर्षयता चुनाव जितेको छैन । ०४८ सालमा रङ्गबहादुर शाही र ०५६ मा शिवराज जोशीले कांग्रेसबाट चुनाव जितेका थिए । त्यसपछि गुमेको साख कांग्रेसले अझै फर्काउन सकिरहेको छैन ।
०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाबाट विनोद कुमार शाहले जितेका थिए । पहिलो संविधान सभाको निर्वाचनमा एमालेबाट राजबहादुर बुढाले कांग्रेसका हिम बहादुर शाही पराजित गरेका थिए भने ०७० मा अहिलेका उम्मेदवार पोखरेलसँग पुनः कांग्रेस नेता शाही नै पराजित भए ।

०७४ मा पनि एमालेले नै विजयी प्राप्त ग-यो । बुढा २३ हजार ३२३ मतसहित विजयी हुँदा जोशीले १६ हजार ६३४ मत प्राप्त गरे । लगातार तीन पटकको हारको बदला लिने अवसर आसन्न निर्वाचनमा दिक्पाललाई मिलेको छ । उनलाई माओवादी र समाजवादीको साथ छ । ८० हजार ६७५ मतदाता रहेको यस क्षेत्रमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको २१ हजार १६१ र कांग्रेसको १८ हजार ६१२ मत छ । यस्तै माओवादीको ५ हजार ७५५ र समाजवादीको ८३३ छ ।
तीन दलको मत जोड्दा २५ हजार २०० हुन्छ । तर संविधान सभा सदस्य पोखरेलका लागि यो मत धेरै अन्तरको भने होइन् । ९ वर्षपछि दोस्रो पटक चुनावमा भाग लिन लागेका पोखरेलको व्यक्तिगत प्रभाव राम्रै छ ।
नेमकिपाको राजनीतिबाट उदाएका उनी ०४३ सालमा साविक छिउडी गाउँ विकास समितिको प्रधानपञ्च जितेका थिए । नेमकिपाबाट नै ०४९ मा छिउडी गाविसको अध्यक्ष बनेका उनी ०५६ मालेबाट प्रतिनिधि सभा सदस्यमा उठेका थिए ।

उनी सभासद हुँदा सो क्षेत्रमा अपेक्षाकृत विकास भने हुन् सकेन । यद्यपि केही सडक विस्तारका काम भने अघि बढेका थिए ।  शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका कांग्रेस नेता शाही ०७४ मा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । कर्णालीका सभामुख राजबहादुर शाहीसँग उनी झण्डै ३ हजार मतान्तरले पराजित भएका थिए । २ (२) मा एमालेबाट राजबहादुर शाही ११ हजार ४४५ मतसहित निर्वाचन हुँदा कांग्रेस नेता शाहीले २ हजार ५७ मत प्राप्त गरेको छ ।

यद्यपि जिल्लामा उनको प्रभाव बलियो छ । तर शाही–पोखरेलबीचको प्रतिस्पर्धामा माओवादी निर्णायक भूमिकामा देखिन्छ । सहज जितका लागि माओवादी र समाजवादीको मत प्राप्त गनुपर्ने शाहीलाई चुनौती छ ।

२ (१) पूर्व मेयरलाई पूर्व गाविस अध्यक्षको चुनौती

दुल्लू नगरपालिका र भैरवी गाउँपालिका अन्तर्गत पर्ने यो क्षेत्रबाट प्रदेश सभा सदस्य पदका लागि साविक दुल्लु गाविसका अध्यक्ष तिलक रिजाल एमालेबाट र दुल्लु नगरपालिकाका पूर्व मेयर घनश्याम भण्डारी कांग्रेसबाट चुनावी मैदानमा छन् ।

रिजाल २०५१ मा एमालेबाट संघीय चुनाव समेत लडेका थिए । उनले करिब ४ सय मत मात्र पाएका थिए । पूर्व पत्रकार समेत रहेका भण्डारी कांग्रेसभित्र युवाबीच लोकप्रिय छन् । यद्यपि उनले पाँच बर्ष मेयर चलाउँदा कत्तिको काम गर्न सके भन्ने कुरालाई आसन्न निर्वाचनमा महत्वका साथ हेरिने छ ।

कांग्रेसभित्र संस्थापन पक्षको कित्तामा रहेका भण्डारी पार्टीको १४ औं अधिवेशनमा जिल्ला सभापतिमा पराजित भए । एमालेका पुराना नेता रिजालसँग उनलाई त्यत्ति सहज भने छैन । ३९ हजार १९८ मतदाता रहेको यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७ हजार ३२९ र एमाले ९ हजार ९४८ मत प्राप्त गरेको छ ।

यदि कांग्रेस–एमालेबीचमा मात्रै प्रतिस्पर्धा हुन्थ्यो भने भण्डारीले रिजाललाई सामना गर्न कठिन हुन्थ्यो । भण्डारीलाई माओवादी–समाजवादीको साथ छ । माओवादीसँग ३ हजार ९०४ र समाजवादीसँग ४०१ मत छ ।
तीन दलको मत जोड्दा एमालेको भन्दा २ हजार बढी हुन्छ । यो आधारमा एमालेका रिजाललाई चुनाव जित्न हम्मे–हम्मे पर्ने देखिन्छ । ०७४ मा एमालेका सुशील कुमार थापा ११ हजार ८१९ मतसहित विजयी हुँदा कांग्रेसका मधुरविक्रम खनालले ८ हजार ७९५ मत पाएका थिए ।

२ (२) पूर्व सहकर्मीबीच प्रतिस्पर्धा

चामुण्डाविन्द्रासैनी, आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिका पर्ने यो दैलेखको पश्चिम क्षेत्र हो । ४१ हजार ४७८ मतदाता संख्या रहेको यहाँबाट प्रदेश सभा सदस्यमा पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
एमालेबाट उम्मेदवार बनेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह २३ वर्षपछि चुनावमा भाग दिँदैछन् , त्यो पनि आफ्नै पुर्व सहकर्मीसँग । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका योगेन्द्र शाही पहिलो पटक चुनावमा ‘डेब्यु’ गर्दैछन् ।
उम्मेदवारी दर्ता गर्ने दुईदिन अघिसम्म एमालेमै रहेका शाहीलाई माओवादीले रातारात टिकट थमाएर उम्मेदवार बनाएको हो । जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका शाही बौद्धिक नेताका रुपमा परिचित छन् भने एमालेको कोटाबाट प्रदेश योजना आयोगको सदस्य समेत बनिसकेका व्यक्ति हुन् ।

विनोद–योगेन्द्रबीच केवल चुनावी प्रतिस्पर्धा मात्रै नभएर प्रतिष्ठाको लडाइँका रुपमा हेरिएको छ । योगेन्द्र विनोदको भतिजा नाता पर्दछन् । यहाँ जातिय राजनीति समेत हुने भएकाले विनोद– योगेन्द्रको प्रतिस्र्धालाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।

०४३ मा नेमकिपाबाट साविक लकान्द्र गाविसको प्रधानपञ्च बनेका शाह ०४८, ०५१ मा नेमकिपा र ०५६ एमालेबाट चुनाव लडेका थिए । जसमध्ये ०५१ सालको निर्वाचनमा मात्रै विजयी भएका थिए । सांसद भइरहेकै समयमा उनी एमाले प्रवेश गरे । जबकी त्यो बेला पश्चिम क्षेत्रमा एमालेभन्दा नेमकिपाको वर्चश्व थियो ।

यहाँ स्थानीय तहमा एमालेले प्राप्त गरेको मत ११ हजार २१३, कांग्रेस ११ हजार २८३, माओवादीको १ हजार ८५१ र समाजवादी ४२९ छ । कांग्रेस–एमालेको बलियो जनाधार रहेको यस क्षेत्रमा गठबन्धनभित्र सबै दल इमान्दार देखिए एमाले नेता शाहलाई चुनाव जित्न कठिन छ ।

यदि कांग्रेसको मत ट्रान्सफर भएन भने युवा नेता शाहीलाई गाह्रो छ । अर्कोतर्फ त्यो क्षेत्रमा माओवादी, समाजवादीको भन्दा नेमकिपाको भोट बढी छ, त्यो शाहीलाई नै बढी जाने देखिन्छ ।रातो पाटीबाट