☰ open Loading... 22 September 2024|  

सुर्खेतका विभिन्न मतदान केन्द्रहरूको संयुक्त अनुगमन
  | २१ कार्तिक २०७९, सोमबार ०५:२९

सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर सुर्खेतका विभिन्न मतदान केन्द्रहरूको संयुक्त अनुगमन गरिएको छ । शनिबार प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुरक्षा निकायको टोलीले पश्चिम सुर्खेतका विभिन्न मतदान केन्द्रहरूको संयुक्त अनुगमन गरेको हो ।

निर्वाचन नजिकिँदै गर्दा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सुर्खेतको पन्चपुरी नगरपालिका, बराहाताल गाउँपालिका र चौकुने गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरूको अनुगमन गरिएको हो । जिल्लामा मतपत्र प्राप्त भैसकेको र अहिले मतदान केन्द्रको अनुगमनमा रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार सुर्खेतमा २ सय ९३ मतदान केन्द्र र १ सय ३९ मतदान स्थलहरू रहेका छन् । जसमध्ये अतिसंवेदनशील स्थलहरू जहाँ सञ्चारको पहुँच छैन त्यस्ता ठाउँहरूमा सुरक्षा व्यवस्था बढाउने र मंसिर १ गतेसम्म मतदान अधिकृतहरूलाई सबै मतदान केन्द्रमा पुर्‍याउने बताए ।

यस्तै, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मतदान केन्द्रको अवस्था, मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था र सुरक्षा अवस्था कस्तो छ ? र निर्वाचनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे संयुक्त अनुगमन गरिएको बताए । अनुगमनका क्रममा देखिएमा समस्याहरूलाई समाधान गर्न स्थानीय निकायसँग पहल गरेको उनले जानकारी दिए । अनमनका क्रममा केही उम्मेदवारहरूले आचारसंहिता पालना नगरी प्रचारप्रसार गरेको पाइएकोमा उनीहरूलाई आचारसंहिता पालना गर्न मौखिक निर्देशन दिएको बताए ।

अनुगमनमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसे, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम बहादुर विष्ट, रक्तकाली गण सुर्खेतका एसपी विमल डाँगी, जिल्ला न्यायधीश विष्णुप्रसाद अर्याल साथै राष्ट्रिय अनुसन्धान आयोग र पत्रकारहरूको सहभागिता रहेको थियो ।