सुर्खेत : कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूका परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरेको आरोप लगाएका छन्।
बिहीबार वीरेन्द्रनगरमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन्। उनले संविधान रक्षा र शान्ति सम्झौतालाई पूर्णता दिनका लागि गठबन्धनको पक्षमा मतदान गर्नु मतदातालाई अनुरोध गरे।
.
‘ओलीले नेपाली जनताको परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरे, त्यसलाई रोक्न र ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो,’ उनले भने, ‘सर्वसत्तावादी र अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढिरहेका छन्, त्यसको अन्त्य गर्न सत्ता गठबन्धनलाई जनताले मतदान गर्न अनुरोध गर्दछु।’
उनले मंसिर ४ को चुनाव अग्रगमन र प्रतिगमन बीचको लडाइँका रूपमा रहेकोले ओलीको प्रतिगमनलाई साथ दिने कि सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको बताए।
सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्काले संविधान निर्माणका क्रममा ओलीहरूले आफैँले गरेको हस्ताक्षर विपरीत दुई–दुई पटक संसद विघटन गरेको बताए।
अहिले पनि ओलीले आफैँले गरेको संविधान विरोधी कामलाई सही हो भन्दै जनतामा मत मागिरहेको खड्काको भनाइ छ।
‘अहिले ओलीले जे भनेर मत माग्दै जनताको बीचमा हिँडिरहेका छन्, त्यो ओलीको दम्भ र अहंकारी प्रवृत्ति हो,’ खड्काले भने, ‘त्यसलाई सबै लागेर परास्त गर्नुपर्छ।’
| १ मंसिर २०७९, बिहीबार १८:५३