काठमाडौं : पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू संघीय संसद, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पत्रकारिता पृष्ठभूमि भएका नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीकी नेत्री सोविता गौतम निर्वाचित भएका छन् ।
वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ मत पाएका थिए । वरिष्ठ नेता पौडेलले पञ्चायतकालमा ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा बसेर काम गरेका थिए ।
त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ बाट ३९ हजार ६ सय २४ मतसहित विजयी भएका छन् । एमालेका अग्निप्रसाद खरेलले २५ हजार तीन सय ४९ मत पाएका थिए । महामन्त्री शर्मा ‘ऐना’ कार्यक्रमको प्रस्तोता थिए । अर्का महामन्त्री थापाले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट २१ हजार तीन सय दुई मत प्राप्त गरी विजयी भएका छन् । एमालेका राजन भट्टराईले भने १३ हजार आठ सय ५५ मत प्राप्त गरेका थिए । थापा इमेज एफ.एम.मा कार्यक्रम प्रस्तोता तथा समाचार वाचक थिए । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ३० हजार पाँच सय ७५ मत लिएर विजयी भएका छन् । २०४८ सालमा ‘महाकाली’ साप्ताहिकका कार्यकारी सम्पादक भएर काम गरेका लेखकले एमालेकी नेत्री निरुदेवी पाललाई १० हजार मतान्तरले पराजित गरेका हुन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही–४ बाट २० हजार १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित बनेका छन् । गोरखापत्र दैनिकका पूर्वसञ्चालक समिति सदस्य सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका नगेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गरेका थिए । त्यसैगरी एमालेका नेता काभ्रेपलान्चोक–२ बाट गोकुल बाँस्कोटा ४५ हजार तीन सय ४५ मत ल्याएर विजयी बनेका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाइँले ३९ हजार चार सय ८२ मत ल्याएका थिए । नेता बाँस्कोटा ‘सम्बोधन’ साप्ताहिकको सम्पादक थिए । त्यसैगरी एमालेका सूर्य थापा प्यूठानबाट ४१ हजार एक सय १८ मतसहित विजयी बनेका छन् । सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेकी थिइन् । थापा ‘बुधबार’ साप्ताहिकको सम्पादक थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने चितवन–२ बाट ४९ हजार तीन सय मत ल्याएर विजयी भएका छन् । कांग्रेसका नेता उमेश श्रेष्ठले भने १४ हजार नौ सय ८८ मत ल्याएका थिए । लामिछानेले न्यूज–२४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्थे । त्यसैगरी पत्रकारिता पृष्ठभूमिका रास्वपाका नेत्री सोविता गौतम १५ हजार दुई सय ३८ मतसहित काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट विजयी भएकी छिन् । टेलिभिजन कार्यक्रम प्रस्तोता गौतमले सो क्षेत्रमा ११ हजार पाँच सय ६६ मत ल्याएर एमालेका मणिराम फुयाँललाई पराजित गरेकी हुन् ।