☰ open Loading... 17 November 2024|  

‘मन्त्री हुन योग्य छु, तर पार्टीको जिम्मेवारीको आधारमा अघि बढ्छु’
  | १७ मंसिर २०७९, शनिबार ०५:१०

सुर्खेत। नवनिर्वाचित प्रदेश सभा सदस्य घनश्याम भण्डारीले आफु मन्त्री हुनका लागि योग्य भएको बताएका छन् । शुक्रबार प्रदेश राजधानीस्थित पत्रकारहरुसँगको भेटमा सांसद भण्डारीले मन्त्री हुनका लागि योग्य भएपनि पार्टीले दिएको जिम्मेवारीको आधारमा अघि बढ्ने बताए ।

‘पद भएपछि मात्रै काम गर्नुपर्छ भन्ने छैन । नागरिकप्रतिको विश्वासले आफु निर्वाचित हुनसकेँ । स्थानीय तहको प्रमुख हुँदैगर्दा गरेका कामले नागरिकको विश्वास जितेको हुँ ।’ उनले भने, ‘मन्त्री हुनका लागि योग्य छु । तर, पार्टीले दिएको जिम्मेवारीकै आधारमा अघि बढ्नेछु ।’

उनले सुन्दर कर्णालीलाई अब परिणाममुखी बनाउनुपर्ने बताए । प्राकृतिक सौन्दयर्ताको स्थल कर्णाली भएपनि सम्भावनाको खोजी गरी सही सदुपयोग र विकासबाट परिणाममुखी बनाउनुपर्ने उनको भनाई थियो ।

उनले आफुसँग भएको ज्ञानलाई सदुपयोग गरी कर्णाली प्रदेश बनाउने अभियानमा लाग्ने बताए । संवैधानिक व्यवस्था बमोजिम राजनीतिक संघीयता सफल भएपनि अन्य कारणले परकल्पना गरेअनुसारको विकास हुन नसकेको भण्डारीको भनाई थियो । ‘राजनीतिक संघीयता सफल भयो । जसका कारण घरदैलोमा मन्त्री पायौं । विकास निर्माणका काम पनि भए । अब प्रशासनिक संघीयता आवश्क छ । त्यसका लागि प्रदेश निजामति ऐन तत्काल कार्यान्वयन गरिनुपर्छ ।’ सांसद भण्डारीले भने, ‘योसँगै आर्थिक संघीयता पनि सफल पार्न अग्रसर बन्नुपर्छ । हाम्रा प्रसस्त सम्भावनालाई पहिचान गरी लगानी भित्राउन सकिएको छैन । त्यसका लागि पनि आर्थिक ऐन बन्नुपर्ने देखिन्छ ।’

प्रदेश सरकारद्वारा समयमा बजेट खर्च हुन नसक्दा नागरिकमा प्रदेश संरचनाप्रति वितृष्णा जागेको भण्डारीले बताए । ‘जनताले प्राप्त गरेका उपलब्धीलाई अवमूल्यन गरी केही समूहले प्रदेश खारेजीको माग गरेका छन् । यसलाई जोगाउन, नागरिकप्रति जिम्मेवार हुनका लागि हामी निर्वाचित भएर आएका छौं ।’ उनले भने, ‘स्थानीय तहले मानिसको जन्मदेखि मृत्युसम्मको जिम्मेवारी पाएको छ । त्यसभन्दा माथिका समस्या समाधानका लागि प्रदेश तह परिकल्पना गरिएको हो । तर, बजेट खर्च नहुँदा वितृष्णा जाग्न थालेको हो । अब यसलाई विस्तारै सुधारोन्मुख बनाउनुपर्छ ।’

कर्णालीको अथाह सम्भावनाका ढोका खोलिनुपर्ने सांसद भण्डारीले बताए । उनले कर्णालीको सिल्क रोड निर्माण, सञ्चार क्षेत्रको पूर्वाधार विकास, स्रोतको सही सदुपयोग, राजनीतिक नेतृत्व भन्दापनि प्रशासनिक नेतृत्वलाई बढि क्रियाशिल बनाउन आवश्यक देखिएको बताए ।

सुर्खेत शहर अव्यवस्थित शहरका रुपमा विकास भैरहेकोले व्यवस्थित राजधानी निर्माण, ज्वाला, सिंजा र कर्णाली सभ्यताको पहिचान र यसको विकास । ‘रेशमी मार्ग’लाई उत्तर दक्षिण मार्गको रुपमा विकास गरी चिन र भारतसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन सकिने सांसद भण्डारीले बताए ।

कर्णालीका धेरै संरचना अझै पनि प्रदेश बाहिर रहेकोले यिनलाई अब कर्णालीमै सञ्चालन गर्न तत्काल पहल थालिने बताए ।