☰ open Loading... 16 June 2024|  

कर्णालीका मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार रुपैयाँ
  | २४ मंसिर २०७९, शनिबार ०५:०८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन् । निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरणअनुसार उनले निर्वाचनमा १८ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छन् । मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार जनकबहादुर शाहीले दिएको जानकारी अनुसार मतदाता नामावली छपाइमा २० हजार, प्रचारप्रसारमा ६ लाख ७९ हजार, गोष्ठि तथा अन्तरक्र्रियामा एक लाख २० हजार खर्च भएको छ ।

 

यस्तै, उनले प्रतिनिधि व्यवस्थापनमा ५ लाख १० हजार, कार्यालय सञ्चालनमा ८० हजार र सवारीसाधन आवतजावतमा ४ लाख ८० हजार गरी जम्मा १८ लाख ८९ हजार रुपैयाँ खर्च गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

 

उनी हुम्लाको प्रदेशसभा (ख)बाट उम्मेदवार रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजबहादुर रावत र नेकपा एमालेका दल रावलले पनि खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यकै उम्मेदवार छिरिङ दम्डुल लामा कार्चेनले भने खर्च विवरण बुझाएका छैनन् ।

 

प्रदेशसभा (क)बाट राप्रपाका छापे ऐडी र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले खर्चको विवरण बुझाइसकेका छन् भने गठबन्धनका उम्मेदवार रहेका रणसिंह परियार, स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही र एमालेका दल फडेराले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

 

यता प्रदेशसभा  (ख)तर्फ राप्रपा नेपालका सुमन रावत, राप्रपाका बहादुर रावत, जसपाका बलिराज शाही र एमालेका छक्कबहादुर लामासहित नौजनाले खर्च विवरण बुझाएका निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारहरुलाई यो महिनाभित्र खर्च विवरण बुझाउने समय दिइएको निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए ।