कालीकोट । ‘निष्पक्ष पेसा स्वतन्त्र पत्रकार, प्रेस स्वतन्त्रता हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको १५ औँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तथा पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका पूर्व अध्यक्ष तुलाराम पाण्डेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले विकट कालीकोटमा पछिल्लो समय सञ्चारमाध्यमले निकै फट्को मारेको बताए । साधारणसभामा बोल्दै उनले ऐनमा जसरी स्पष्ट देखिन्छ, त्यसरी नै पत्रकारहरुले विषयका उठान गर्न आग्रह गरे । समाज परिवर्तनका संवाहक पत्रकार भएकाले जिम्मेवारी अनुसार कलम चलाउनुपर्नेमा जोड दिन आग्रह गरे ।
उनले भने, ‘पत्रकारहरुले उठाउने सही बिषयमा प्रशासनले जहिले पनि साथ र सहयोग गर्छ । हामी यसमा पत्रकारहरुलाई हातमा हात दिएर सहयोग गर्छौ तर विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले सही विषय उठाउन गर्नुपर्छ ।’ वार्षिक साधारणसभा सफलताको शुभकामना दिँदै नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटका पार्टी अध्यक्ष जसिप्रसाद पाण्डेले अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गरे । अब विकास केन्द्रीत पत्रकारितामा जोड दिँदै मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उनले आग्रह गरे ।
देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको बताउँदै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा पार्टी अध्यक्ष पाण्डेले जोड दिए । नेता पाण्डेले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । साधारणसभामा शुभकामना दिने अधिकांश वक्ताले पत्रकार महासंघ जिल्ला शाखा कालीकोट भौतिक रुपमा मजबुत भएकाले अब पत्रकारितालाई गुणात्मक बनाउनुपर्ने बताएका थिए । साधारणसभाको बन्दसत्रमा सम्पूर्ण पत्रकारहरुको हक हितका लागि निर्णय गर्नुपर्ने बताउँदै साधारणसभा सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।
सभामा नेपाली कांग्रेसका नेता भानुभक्त शर्मा (आचार्य) प्रेस चौतारीका केन्द्रीय सदस्य पवित्र कुमार शाही, कालीवहादुर मल्ल, प्रेस युनियनका केन्द्रीय सदस्य बिस्नप्रसाद न्यौपाने, प्रेस चौतारीका कर्णाली प्रदेश समितिका महासचिव प्रेमराज सिम्खडा, उद्योग वाणिज्य सघं कालीकोटका अध्यक्ष रतन बहादुर शाही लगायत विभिन्न पत्रकारका पेसागत संगठनका जिल्ला अध्यक्षहरूले सभा सफल्ताको शुभकामना दिएका थिए ।
सभाले बुहारी पत्रकारिता पुरस्कारको घोषणा समेत गरेको छ । सामुदायिक रेडियोमा कार्यरत एकजना महिला पत्रकारलाई पाँच हजार पुरुस्कार राशिको ब्यवस्था गरिएको र विशेष कार्यक्रमकाबीच उक्त पुरस्कार प्रदान गरिने महासंघका अध्यक्ष भरतराज बिष्टले बताए । साधारणसभामा जिल्ला स्थित विभिन्न छापा अनलाई, रेडियो, टेलिभिजनमा कार्यरत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।