☰ open Loading... 14 May 2025|  

बालमैत्री वडा घोषणा
  | १ पुष २०७९, शुक्रबार ०६:२७

 

यामराज बिष्ट

दैलेख। लामो समयको अभ्यासपछि दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेसँगै वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री वडा निर्माणको लागि वडाले सबै  सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडा अध्यक्ष दिपेन्द्र वली जानकारी दिए ।

 

बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले बालमैत्री वडा घोषणा गरेका हुन् । बालबालिकाका आधारभूत आवश्यकता पुरा गरेको बताउदै गाँउपालिकाका अध्यक्ष बिशीले बालमैत्री वडा घोषणा पश्चात यहाँका बालबालिका डर, त्रास र हिंसाबाट मुक्तभएको बताए । ‘अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैन्न’ बीसीले भने, ‘बालबालिकाका धेरै अधिकारहरु पुरा भएका छन् । अझै पनि हामी थपकाम गर्न प्रतिवद्ध छौं ।’

 

बाल अधिकारका ‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरी चार वटा पक्षलाई मुख्य आधार मानेको छ । चार सय १९ घरधुरी रहेको वडा नं। ८ को जनसंख्या दुई हजार चार सय २९ रहेको छ । वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।

 

बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ । दैलेख जिल्लाभरमा यो तेस्रो बालमैत्री वडा बनेको छ ।