☰ open Loading... 7 September 2024|  

कर्णालीमा जातीय विभेदका घटना मोबाइलबाटै दर्ता
  | २ पुष २०७९, शनिबार ०५:००

कर्णाली प्रदेशमा जातीय विभेद तथा छुवाछूतका घटनाहरु अब मोबाइल एप्समा दर्ता हुने भएको छ । विभेदका घटनाहरु दर्ताका साथै तथ्यांकीकरण हुने र समाधानका लागि पहल गर्न मोबाइल एप्समार्फत गर्न सकिने भएको हो । जातीय विभेद र छुवाछुत सम्बन्धी लामो समयदेखि काम गर्दै आइरहेको समता फाउण्डेशनले डिग्निटी एप्समार्फत घटनाहरु दर्ता गर्ने जनाएको छ ।

 

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले एक कार्यक्रमकाबीच उक्त मोबाइल एप्सको सार्वजनिक गरेका छन् । उनले एप्सबाट जातीय विभेद तथा छुवाछुतका घटनाहरुको विवरण एकीकृत गर्ने र समाधानका लागि पहल गर्न सघाउ पुग्ने बताए । विभेद तथा छुवाछुत अन्त्यका लागि एप्सबाट काम गर्न सहज हुने उनको भनाइ छ ।

 

समता फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले कर्णाली प्रदेशभरमा दलितमाथि हुने जातीय विभेद तथा छुवाछुतका घटनाहरु यही एप्सको सहयोगबाट संकलन हुने बताए । उनले एप्स कर्णालीबाट पहिलो पटक सार्वजनिक गरिएको समेत जानकारी गराए ।

 

दलितमाथि हुने विभेदका घटनाहरु अहिलेसम्म के कति भयो भन्ने तथ्यांक नरहेकाले एप्सबाट मासिक तथा वार्षिक तथ्यांक राख्न पनि सहज हुने उनको भनाइ छ । डिग्निटी एप्सका परिकल्पनाकार एवं समता फाउण्डेशनका प्रवन्धक तिरुपति परियारले एप्समा घटना अभिलेख दर्ता तथा फ्लोअप सबै गर्न सकिने जानकारी दिए । एप्स सञ्चालनका लागि कर्णालीका १० जिल्लामा एक÷एक जना दलित अधिकारकर्मीलाई प्रशिक्षण दिइएको छ ।

 

अधिकारकर्मीहरुले दलितमाथि हुने विभेद र छुवाछूतका घटनाहरु संलग्न गरी समाधानको पहल गर्ने उनले बताए । समता फाउण्डेशनका कर्णाली प्रदेश संयोजक मंगलसेन सार्कीले कर्णालीमा दलितहरुको संख्या बढी भएकोले यो मोबाइल एप्स पहिलोपटक कर्णालीबाट लागू गरिएको बताए । उनले यही एप्सबाट दलितमाथिको विभेद र छुवाछूतका घटनाहरुको एकीन तथ्यांक आउने जानकारी दिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले एप्सबाट वास्तविक तथ्यांक संकलन गरिने भएकाले त्यसका आधारमा सार्वजनिक गर्न सहज हुने बताए ।