☰ open Loading... 22 October 2024|  

स्वास्थ्य चौकीमा विद्युत नहुँदा समस्या
  | १८ पुष २०७९, सोमबार ०५:०७

स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारले विद्युत उपलब्ध गर्ने भने पनि हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ३ राया स्वास्थ्य चौकीमा भने अझै विद्युत पुगेको छैन ।

 

करिब ५ वर्षदेखि राया गाउँमा विद्युत सञ्चालन हँुदै आएको छ । विद्युत राया र कार्ङगा गाउँका करिब दुई सय ५० घरधुरीलाई विद्युत वितरण गरेको भएपनि रातिको समयमा मात्र करिब १० घण्टा विद्युत सञ्चालनमा आउने गरेको खार्पुनाथ गाउँपालिका वडा ३ का अध्यक्ष च्यागा बोहोराले बताए ।

 

अध्यक्ष बोहोराले उक्त विद्युत २५ किलोवाट उत्पादन गर्ने क्षमता भएपनि सो विद्युतले १९ किलोवाट मात्र विद्युत उत्पादन गर्ने भएपछि पूर्ण रुपमा विद्युत सञ्चालन हुन नसकिएको बताए । राया स्वास्थ्य चौकीका इन्चार्ज बिरी सिंह रावलले राति ७ बजे देखि बिहान ६ बजेसम्म विद्युत आउने भएकाले दिउँसो स्वास्थ्य क्षेत्रका विद्युतबाट हुने काम हुन नसक्ने गरेको बताए ।

 

त्यस्तै दिउँसोको काम पनि राति विद्युत सञ्चालनमा आए मात्र काम गर्नु परेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ । उक्त समस्यालाई अबको एक महिना भित्र समाधान गर्ने खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञान बहादुर सिंहले बताए ।