☰ open Loading... 21 September 2024|  

सभामुख गुरुङले त्यागिन् एमालेको सदस्यता
  | १२ माघ २०७९, बिहीबार ०५:१९

सुर्खेत: कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले दलीय आवद्धता त्यागेकी छन् । उनले सभामुखको भूमिका साझा, निस्पक्ष र स्वतन्त्र हुनुपर्ने संवैधानिक प्रावधानअनुसार आफूले नेकपा (एमाले) को सदस्यता त्यागेको घोषणा गरेकी हुन् । बुधवार विज्ञप्ती जारी गर्दै सभामुख गुरुङले एमालेमा रहँदाका सबै जिम्मेवारीबाट अलग भएको जनाएकी छन् । चार दलीय गठबन्धनको साझा उम्मेदवार बनेकी गुरुङ माघ १ गते कर्णाली प्रदेशसभाको सभामुखमा निर्वाचित भएकी थिइन् । सभामुख निर्वाचित हुनुअघि उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य थिइन् । गुरुङ समानुपातिक निर्वाचन प्रणालीमार्फत एमालेबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

सभामुख गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘२०७९ माघ १ गते सम्पन्न कर्णाली प्रदेशसभाको बैठकले मलाई यस गरिमामय सभाको सभामुख पदमा निर्वाचित गरेकाले साझा भूमिकामा रहनुपर्ने संवैधानिक प्रावधानप्रति प्रतिवद्ध रहँदै म आवद्ध दल नेकपा ‐एमाले) को सम्पूर्ण जिम्मेवारी तथा आवद्धता अलग रहेको घोषणा गर्दछु । साथै, सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु ।’