☰ open Loading... 21 September 2024|  

हिउँ पन्छाएपछि जुम्लामा हवाई सेवा सञ्चालन
  | १३ माघ २०७९, शुक्रबार ०५:४४

जुम्ला । जुम्लामा दुई दिनदेखि अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हिमपातका कारण मङ्गलवारदेखि अवरुद्ध हवाई सेवा बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले धावन मार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको जुम्ला विमानस्थलका निमित्त प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धावनमार्गको हिउँ पन्छाए लगत्तै तारा र समिट एयरले उडान गरेका छन् । मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको थियो । जसका कारण नेपालगन्ज र जुम्ला विमानस्थलमा यात्रु अलपत्र अवस्थामा थिए ।

बिहीबार रातिदेखि नै मौसममा सुधार आएपछि बिहान ७ बजे नै नेपाली सेना लगायत सुरक्षा निकाय पुगेर धावन मार्गको हिउँ पन्छाइएको नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले बताए ।