☰ open Loading... 26 July 2024|  

असल आमालाई पुरस्कारसहित सम्मान
  | २२ माघ २०७९, आईतवार ०५:३६

यामराज बिष्ट
दैलेखः स्वास्थ्यका  मापदण्डसहित बिहेवारी २० वर्ष पूरा गरी शिशु जन्माएका असल आमालाई पुरस्कारसहित सम्मान गरिएको छ ।  नारायण नगरपालिकाले एक सय ५ जना असल आमालाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

दुईमात्र सन्तान भएका, स्वास्थ्यको मापदण्डअनुसार चारपटक गर्भ जाँच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका आमालाई नगद रु दुई हजारसहित प्रमाणपत्र दिएर  सम्मान गरिएको नगरपालिका स्वास्थ्य शाखाका सह-संयोजक लालबहादुर खड्काले जानकारी दिए । उनले भने नगरपालिकाका ११ वटा वडा मध्ये नौ वडाका ८४ जनालाई शुक्रवार सम्मान गरिएको छ । १० र ११ वडाका २१ असल आमाहरुलाई वडामै पुगेर नगद पुरस्कारसहित सम्मान गरिने उनको भनाई छ ।

यस्तै नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, महिला र बालबालिका मैत्री सेवा विस्तार गरी नागरिकलाई निरोगी र स्वावलम्बी बनाउन असल आमा प्रोत्साहन कार्यक्रम संचालन गरिएको नगर प्रमुख लोमन शर्माले बताए । उनले आगामी आर्थिक वर्षमा समेत जनता संग प्रत्यक्ष जोडिने कार्यक्रम निरन्तर गरिराख्ने प्रतिबद्धता ब्यक्त गरे ।