☰ open Loading... 27 July 2024|  

सल्यान जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन
  | २४ माघ २०७९, मंगलवार ०५:२७

सल्यान । सल्यान जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गरिएको छ । शारीरिक समस्या भोग्दै आएका बिरामीले व्यायाम मार्फत सहज उपचार पाउन सकुन भनेर अस्पतालमा फिजियोथरोपी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

थेरापीका लागि जिल्लावासीले बाहिर जान नपरोस् र सहज उपचार तथा सल्लाह पाउन सकुन भनेर फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको सल्यान जिल्ला अस्पताल इन्चार्ज एमडीजीपी डा। अभिषेक सिंहले बताए ।

फिजियोथेरापी सेवा सञ्चालनका लागि दरबन्दीमा एक जना थेरापिष्ट आएको र शारीरिक व्यायामका लागि सामग्री आएको उनको भनाई छ । उनका अनुसार हाडजोर्नी, ढाडलगायत शरीरका विभिन्न भागको दुखाईबाट लामो समयदेखि पीडितहरू जिल्लाबाहिर उपचार गर्न जानु पर्दा थेरापी सेवाका लागि धेरै खर्च र समस्या झेल्दै आएका थिए ।

थेरापीका लागि ठाउँ अभाव भएकाले अहिले अस्पतालकै ओपिडी कक्षबाट सेवा दिइरहेको  थेरापिष्ट वि.एस. लाडली मण्डलले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले थेरापी सेवालाई प्रभावकारी बनाउन सम्बन्धित निकायमा पर्याप्त मात्रामा आवश्यक सामग्री र स्थानका लागि पहल भइरहेको र शारीरिक व्यायामका लागि छिट्टै ठाउँको व्यवस्था गरिने जानकारी दिए।जिल्लामा फिजियोथेरापी गर्ने खालका धेरै बिरामी भएकाले सेवा प्रभावकारी भए जिल्लावासी मात्र नभई रोल्पा, रुकुमका स्थानीय पनि लाभान्वित हुने उनको भनाइ छ।