☰ open Loading... 18 May 2024|  

सुर्खेतमा लागूऔषधसहित चार जना पक्राउ
  | २६ माघ २०७९, बिहीबार ०५:१५

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ पाथिभारा मन्दिर नजिकबाट कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिलीग्राम ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर- ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत र २० वर्षका रोहन धौलाकोटी छन् । यस्तै २६ वर्षका दिपेश थापामगरलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट लागूऔषध बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । उनीहरूको साथबाट २१ हजार ९ सय ४० रुपैयाँ पनि फेला बरामद गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ ।