☰ open Loading... 21 November 2025|  

आफ्नै पेसामा फर्किए राउटे
  | २३ फाल्गुन २०७९, मंगलवार ०५:२३

दैलेख — भैरवी गाउँपालिका–१ नाविस्थानमा बस्दै आएका राउटे समुदाय परम्परागत पेसामा फर्केका छन् । लामो समयदेखि आफ्नो पुर्ख्यौली पेसा छाडेका राउटेहरूले अहिले फेरि काठका सामग्री बनाउन थालेका हुन् ।

दैलेखको भैरवी–१ नाविस्थानमा बस्दै आएका राउटे ।

मदिराले राउटेहरूको ज्यान लिन थालेपछि एक महिनाअघि राउटे समुदायमा मुखियाहरूले मदिरा निषेध गरेका थिए । ‘वनको राजा’ का रूपमा चिनिने फिरन्ते जाति राउटेको अस्तित्व मेट्ने डरले बस्तीमा मदिरा निषेध गरिएको मुखिया सूर्यबहादुर शाहीले बताए । उनका अनुसार अहिले बस्तीबाट राउटेहरू आफूखुसी बाहिर जान रोक लगाइएको छ ।

‘अहिले हाम्रा जनताको दैनिकी फेरिएको छ, बिहान उठ्नासाथ बजारमा मदिरा खान हिँड्नेहरू काठका सामग्री तयार गर्न व्यस्त हुन्छन्,’ उनले भने, ‘महिला, पुरुष र बालबालिकाले पनि मदिरा खान थालेपछि नयाँ नियम लागू गरी मदिरा निषेधित समुदाय बनाउन थालेका हौं ।’ झन्डै १० वर्षसम्म विभिन्न संघसंस्थाले सहयोग गरेर आफूहरूलाई परनिर्भर बनाएको उनको भनाइ छ । उनले युवापुस्तालाई परम्परागत सीप हस्तान्तरण गर्ने गरी काठका विभिन्न भाँडाकुँडा बनाउन सिकाइरहेको बताए ।

बस्तीलाई मदिरा निषेधित बनाएपछि नियम पालना भएको/नभएकोबारे महामुखिया र मुखियाहरूले दैनिक अनुगमन गरिरहेका छन् । एक महिनायता सबै राउटेको स्वास्थ्य अवस्था र दैनिकीमा सुधार आएको मुखिया शाहीले बताए । राउटेले तयार पारेका काठका सामान सहजै किनबेच नहुँदा उनीहरूले बनाउन छाडेका हुन् । महामुखिया मैनबहादुर शाहीले राउटेले बनाएका काठका सामग्री बजारीकरणमा समस्या भएको बताए । राउटेहरूलाई काम नगरेर पैसा दिनुभन्दा काम गराएर पैसा दिएको भए हुने उनको भनाइ छ । ‘एक दशकअघिसम्म अरूले दिएको पैसा छोए पाप लाग्छ भन्ने हाम्रो समुदायका मानिस संघसंस्थाले गर्दा कामभन्दा पनि सित्तैमा पैसा पाइने रहेछ भनेर काम गर्न छाडे,’ उनले भने, ‘लामो समय बस्ती नै मदिरामा लिप्त भयो, बस्तीका सबैलाई मदिरा सेवन नगर्न सम्झाएको छु, वरिपरिका होटल र पसलमा पनि मदिरा बिक्री नगर्न अनुरोध गरिएको छ, अब ठिक होला ।’

झन्डै १० वर्षमा मदिराले गर्दा राउटे बस्तीमा ६१ जनाको ज्यान गयो । अहिले यहाँको राउटे समुदायका ४० घरमा १ सय ४२ जना राउटे छन् । उक्त बस्तीमा १० महिनादेखि कार्यरत अनमी अमृता रोकायले राउटेले अहिले मदिराको प्रयोग गर्न छाडेको बताइन् । बस्तीमा खाना कम र मदिराको प्रयोग बढी भएकाले राउटेको संख्या घट्दै गएकाले यो अभियान सुरु गर्न आफूहरूले प्रेरणा दिएको उनको भनाइ छ ।कान्तिपुरबाट