☰ open Loading... 26 July 2024|  

हाडजोर्नी शिविरमा ७५ जनाको अप्रेसन
  | ३ चैत्र २०७९, शुक्रबार ०५:१०

दैलेख  :   कालिकोट शुभ कालिका गाउँपालिकाका पदम बहादुर शाहीको एक साता अघि लोटेर खुट्टा भाँचियो । खुट्टा भाँचिए पछि गाउँमै ब्याजे पैसा निकालेर उपचारका लागी नेपालगञ्ज जाने तयारीमा थिए । रेडियोमा हाडर्जोनी तथा नसा सम्बन्धी निःशुल्क शिविर दैलेख अस्पतालमा हुन लागेको सूचना सुनेपछि उनी नेपालगञ्ज जान रोकिएर शिविर सञ्चालन भएपछि दैलेखमा आए ।

दैलेखमा आएका शाहीको निःशुल्क अप्रेसन भए पछि खुसी भए । उनले भने नेपालगञ्ज गएर अप्रेसन गराएको भए एक लाख देखी ४० हजार सम्म रकम खर्च हुने थियो दैलेखमा निःशुल्क शिविरमा आएपछि कुनै रकम खर्च भएन ऋण पनि .नलाग्ने भयो । उनी मात्र होइन निःशुल्क शिविर बाट दैलेख, कालिकोट, जाजरकोट, अछाम लगायत पाँच जिल्लाका ७५ जनाको निःशुल्क अप्रेसन गरिएको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ ।

जिल्ला अस्पताल दैलेखका डाक्टर धर्मराज रेग्मीले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,दैलेख अस्पताल र नारायण नगरपालिकाको आयोजनामा मीड सोलुसन फाउन्डेसन स्विट्जरल्याण्डको आर्थिक सहयोगमा संञ्चालन गरिएको शिविरमा एक हजार २३१ जनाको स्वास्थ्य परीक्षण गरिएको र ७५ जनाको अप्रेसन गरिएको बताए । उनले हड्डी भाँच्चिएको, हड्डी भाँच्चिएर रड राखेर बिग्रिएको, हातखुट्टा बाङ्गिएको जस्ता जटिल स्वास्थ्य समस्या झेलिरहेका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको बताए ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले आर्थिक अभावकै कारण हड्डी भाँचिएका,बाङ्गो भएका, रड राखेर बिग्रिएका नागरिकलाई निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको बताए । उनले कमजोर आर्थिक अवस्था भएर औषधी उपचार नगराएर घरमै बसेका नागरिकलाई शिविरले सहजता प्रदान गरेको बताए ।

शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका ६ जना विशेषज्ञ डक्टर सहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ । अस्पतालका प्रमुख डाक्टर रेग्मीले दैलेखमा सञ्चालन गरिएको शिविरमा उपचार सम्भव नभएका बिरामीहरूलाई काठमाडौँमा शल्यक्रिया निःशुल्क अप्रेसन गरिने जानकारी दिए । २७ गते देखी सुरु भएको बुधवार सम्म संञ्चालन भएको थियो ।