☰ open Loading... 19 October 2024|  

ठूला व्यापारीहरूकै सेटिङ्गमा हुन्छन् तस्करी
  | १६ चैत्र २०७९, बिहीबार २०:२८

कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख बढीको कर छलीको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ।

कर्णालीमा कर छलिका सामानहरु पैसा र शक्तिको आडमा खुलेआम ल्याउने गरेको पाइएको छ। अहिले भारतबाट सुपर पावर सुर्ती र मेगाश्री गुड्का खुलेआम बजारमा बिक्री हुँदा प्रहरीले सामान्य छापा समेत हाल्ने गरेको पाइएको छैन। जसका कारण गैर कानुनी व्यापार गर्नेहरू कर्णालीमा मौलाउँदै छन्।

यो आर्थिक वर्षको असार देखी हालसम्म कर छलीका सामान कर्णालीका १० जिल्लाबाट ८० लाख ६५ हजार २ सय १० रुपैयाँ बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

गत आर्थिक वर्षमा १ करोड, ७७ लाख २ हजार ६ सय ७५ रुपैयाँ बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व कार्यालयमा पठाएको थियो। कर्णालीमा ठुला व्यापारीहरूले सेटिङ्गमा कर छलिका सामानहरु ल्याउने गरेको पाइएको छ।

सत्ता र शक्तिको आडमा अवैध सामानहरु रातारात ल्याएर खुलेआम बिक्री वितरण भइरहेको छ। बजारमा खुलेआम सानादेखि ठुला पसलसम्म भारतीय सुर्तीजन्य बस्तुहरू सुपर पावर सुर्ती, मेगाश्री गुड्का पाइन्छ। प्रशासन, प्रहरीको ध्यान कहिल्यै जाँदैन। अवैध सुर्तीजन्य बस्तु मात्रै पसलबाट नउठाउनुले पनि कर्णालीमा छ्यापछ्याप्ती प्रोत्साहन पाएजस्तै भएको स्थानीयहरु बताउँछन्।

कर छलिका सामानहरूमा भारतबाट ल्याइएका सुपर पावर सुर्ती, चिनी, कोल्ड ड्रिंक, खुद्रा सामान, धोती, मोबाइल, रासायनिक मल, कुर्ता सुरुवाल, तन्ना ईलोक्टोनिक्स सामान, निर्माण सामागी, मोटरसाइकल लगायतका सामान रहेका छन्।

कर छलिका सामानहरु पक्राउ गर्न प्रहरीलाई विशेष निगरानी राख्न निर्देशन दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

‘यो आर्थिक वर्षमा दश जिल्लामा ८० लाख ६५ हजार २ सय १० रुपैयाँ बराबरको सामान बरामद भयो।’ प्रहरी प्रवक्ता (एसएसपी) श्रेष्ठले भने, सबैभन्दा बढी सामान सुर्खेतबाट बरामद भएको छ।’