☰ open Loading... 19 October 2024|  

गौशाला क्षेत्रमै अलपत्र अवस्थामा मृत गाई फेला, कसले मार्‍यो गाई ?
  | १७ चैत्र २०७९, शुक्रबार ०५:१८

वीरेन्द्रनगर छिर्ने मुख्य नाका भेरी पुल नजिकै ठाडो खोलामा मृत गाईहरू छरपस्ट अवस्थामा भेटिएका छन्।मृत गाईहरू भेटिएको खोलामाथि वीरेन्द्रनगर नगर पालिकाले खर्च गरेर बनाएको गौशाला समेत छ। छाडा पशु चौपायाको संरक्षणका लागि बनाइएको गौशाला समेत अलपत्र अवस्थामा मृत गाईहरू भेटिएका हुन्।

गौशाला हुँदाहुँदै खोलामा छरपस्ट मृत गाईहरू फ्याँक्ने गरेको पाइएको हो। ती गाईहरू कसले मार्‍यो? किन ठाडो खोलामा अव्यवस्थित रुपमा फालियो? त्यसको छानबिन हुनुपर्ने स्थानीयहरूको भनाई छ।

मृत गाईहरूको बारेमा जवाफ न त नगर पालिकासँग छ न गौशाला व्यवस्थापन पक्षसँग रहेको छ। मृत अवस्थामा गाईहरू भेटिएपछि स्थानीयहरु दुःखी भएका छन्।

भेरी पुल नजिक वीरेन्द्रनगरपालिकाले ९० लाख बढी खर्चेर गौशाला बनाएको छ। छाडा पशुको उचित व्यवस्थापनका लागि व्यवस्थित गौशाला निर्माण गर्न नगरपालिकाले बर्सेन पैसा खर्च गरिरहेको छ। गत वर्ष १ करोड बजेट विनियोजनमा ९० लाख बढी खर्च भएको थियो भने यो वर्ष नगरपालिकाले ४० लाख यो वर्ष खर्च गर्दैछ। भेरीमा नगरपालिकाका अनुसार अहिले त्यहाँ १ सय ५० भन्दा बढी गाईहरू रहेका छन्।

गौशाला व्यवस्थापनसँग मृत गाईका बारेमा सोधपुछ गर्ने वीरेन्द्रनगर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए।

यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा पशुको व्यवस्थापन गर्न कार्यदल बनाएर गणना समेत गरेको थियो। त्यही बेला १ सय ४२ वटा पशु भेटिएको थियो।

भेरी पुलदेखि बागेशिमलसम्म मात्रै सडकमा ८५ वटा छाडा चौपाय भेटिएका थिए। वीरेन्द्रनगरका विभिन्न स्थानहरूबाट छाडा चौपायहरुलाई संकलन गरेर भेरीमा लगिएको थियो। यसअघि नेपालगंजबाट दैलेख लग्न लागिएका गाईहरू मारेको आरोपमा १० जनालाई दोषी ठहर गरेर १६ महिनासम्म कैद सजाय अदालतबाट सुनाइएको थियो।

भेरी पुल नजिक वीरेन्द्रनगर तर्फ ठाडो खोलामा छरपस्ट फालिएका मृत गाईहरू।