☰ open Loading... 18 October 2024|  

हुम्लाको सिमकोट बजारमा म्याद गुज्रेका सामग्री
  | २६ चैत्र २०७९, आईतवार १९:१८

हुम्ला, २६ चैत । हुम्लाको सदरमुकामस्थित सिमकोट बजारमा म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीको नेतृत्वमा आइतबार गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका सामग्रीहरुको म्याद गुज्रेको भेटिएको थियो ।

 

सिमकोटस्थित २३ वटा किराना पसल, ७ वटा मासु पसल, तरकारी र फलफुललगायतका पसलमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अभयराज रेग्मीले जानकारी दिए । उनकाअनुसार म्याद गुज्रेका ११ प्रकारका पे–पदार्थ तथा खाद्य प्रदार्थ नष्ट गरिएको छ । नष्ट गरिएको सामग्रीको मूल्य ७३ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

 

बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको कोष तथा लेखा नियन्त्रण हुम्लाका प्रमुख निराजन उपाध्यायले जानकारी दिए ।

 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजना, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लाको सहकार्यमा बजार अनुगमन गरिएको हो । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख तथा प्रतिनिधि, लेखा तथा कोष नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि पत्रकारलगायतको सहभागितामा रहेको थियो ।