☰ open Loading... 7 September 2024|  

सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैनः गगन थापा
  | २९ चैत्र २०७९, बुधबार ०५:१०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणामुखी काम गर्नुपर्ने बताए।

“वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो\यो काम गर्‍यौं भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ”, उनले भने।

केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताए। उनले सङ्घीय शिक्षा ऐनका लागि आवश्यक सुझाव दिन शिक्षकलाई आग्रह गरे।

‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ।

विसं २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ।

सोही अवसरमा महामन्त्री थापाले शिक्षक पेशामा रहेर विभिन्न योगदान दिएका शिक्षकलाई सम्मान गरेका थिए।