☰ open Loading... 22 June 2024|  

‘स्वर्गकी अप्सरा’को छेउमा कष्ट सहनेहरू
  | २९ चैत्र २०७९, बुधबार ०५:१५

जुम्ला । रारा, डाँडैडाँडाको बीचमा पानीमय उपत्यका । जहाँ दिन ढल्दै गर्दा सूर्यको प्रकाशको चमकमा राराले आफ्नो रूप बदल्दै छ, अनि हावाको वेगमा गति पनि । पानीको छाल यति तेज छ कि कर्णालीको भेलजस्तै राराका छालहरू किनारामा मस्ती मारिरहेका छन् ।

बिहान ७ बजेबाट चलेका डुंगा दिउँसो १२ बज्दा किनारमा तैरिदै छन् । सन्तोषकुमार मल्लको डुंगा पनि किनारमा आइपुग्यो । ‘बिहानैबाट डुंगा चल्छ, ४५ मिनेट घुमाएको ५ सय रुपैयाँ लिन्छौं,’ उनले भने, ‘तीन किलोमिटर दूरी पार गर्दै अर्को किनारसम्म पुग्छु ।’

रारा नेपालकै ठूलो ताल, जसले आफ्नो गर्भमा असीमित सम्भावना लुकाएको छ । सबैले कर्णालीमा समृद्धिको ढोका राराले खोल्छ भनिरहेका छन् । तर, स्वर्गकी अप्सरा उपनाम पाएको राराको पर्यटनबाट यहाँका स्थानीयले लाभ लिन भने सकिरहेका छैनन् ।

राराको प्रचार गरेर नथाक्ने राज्यसँग यहाँका दुःख कष्टको हिसाब नै छैन

सरकारका पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डहरू प्रचारप्रसारको नाममा महोत्सव, भ्रमण वर्ष, गन्तव्य वर्षका रूपमा वार्षिक बजेट विनियोजन गर्न निकै रुचाउँछन् । तर, राराजस्ता रमणीय र मनोरम प्राकृतिक सम्पदा भएर पनि दुःख कष्टको जीवन बिताउने कर्णालीवासीका पीडा र वेदना कति छन् भन्ने राज्य सँग हिसाब नै छैन ।

सन् २००८ मा पर्यटन बोर्डले रारा महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटकपटक कार्यक्रम भए तर व्यवस्थित मोटरबाटो र भरपर्दो हवाईमार्ग नभएपछि पर्यटकमा खासै वृद्धि भएन । राराले मुगुवासीको आर्थिक जीवनमा खासै अवसर दिएको छैन ।

मुगुवासीसँग नेपालकै ठूलो ताल रारा मात्रै छैन, दुःख कष्टका भारी पनि साना छैनन् । सरकारले बा¥है महिना पर्यटक पुग्ने वातावरण सिर्जना गरिदिनुपर्ने स्थानीयको माग छ । ‘हामीसँग यति विशाल ताल रारा छ, तर हाम्रा दुःख कष्टका भारी पनि साना छैनन्,’ स्थानीय रमेश विकले गुनासो पोखे, ‘स्वर्गको काखमा नर्कको जीवन जिउँदा पनि राज्य बेखबर छ ।’

राराको पर्यटनबाट स्थानीयले कसरी लाभ लिन सक्छन् त ? भन्ने प्रश्नमा छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भने, ‘छाँयानाथ रारा नगरपालिकाका स्थानीयलाई पर्यटनमा जोड्न होमस्टेमा अनुदान र तालिमको व्यवस्था गर्ने नीति बनाइएको छ, यतिले पुग्दैन, संघ र प्रदेश सरकारले चासो दिएको पाइँदैन ।’ रारा नेपालै गौरव हो । रारालक्षित पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउनसक्छ तर त्यसका लागि गन्तव्यमा पर्यटकको औसत बसाइ लम्ब्याउने उपाय आवश्यक छ । यससँगै सम्भावनालाई उपयोग गर्ने नीति जरुरी रहेको कर्णालीवासीको भनाइ छ ।

प्रकृतिको अनुपम उपहार रारालाई स्वर्गकी अप्सरासँग दाँज्ने गरिन्छ । २ हजार ९ सय ७२ मिटर उचाइमा अवस्थित राराको लम्बाइ ५ किमि, चौडाइ ३ किमि र गहिराइ १ सय ६७ मिटर रहेको छ । प्रकृतिको अनुपम उपहार रारामा हवाई, यातायात र पैदल सबै माध्यमबाट पुग्न सकिन्छ । रारा पुग्ने पर्यटकका लागि खसभाषा र सभ्यताको जननी जुम्ला सिंजा उपत्यका, भोजपत्र, निगालेसहितका कोणधारी जंगल, हिमाली वन्यजन्तु थप आकर्षणका विषय हुन् । मुगु सदरमुकाम गमगढीबाट चंखेली हिमाल देख्न सकिन्छ, जुन एक रुपैयाँको नोटमा अंकित छ ।

राराको सग्लो रूप हेर्न भने घोडामा चढेर मुर्माटप जानुपर्ने स्थानीय रमिला बुढाको भनाइ छ । ‘मुर्माबाट सिंगो ताल हेर्न सकिन्छ, वर्षायाममा भने रारालाई कुहिरोले छोप्छ,’ रमिलाले भनिन्, ‘घाम लागेको दिन रारा नियाल्न सकिन्छ ।’

प्रतिकूल भौगोलिक बनावट र भौतिक संरचना अस्तव्यस्त हुँदा यातायात र हवाई मार्ग प्रभावित भइरहन्छ, जसले प्रचुर सम्भावना बोकेको रारा मौसमी पर्यटकीय गन्तव्य मात्रै बनेको छ । अटल, स्वच्छ र सुन्दरताले भरिपूर्ण रारा भएर पनि मुगुवासी अशिक्षा, गरिबी, रोग, भोक, रूढीवादी, पछौटेपनको सिकार भइरहेका छन् ।

‘कर्णालीको व्यथा स्थानीय कलाकार आफ्नो ठाडी भाकामा यसरी सुनाउँछन्,
देखिँदो घाउ छैन, शरीरलाई सञ्चो छैन…….
खोल्यास माउ छैन, को बैरीले चल्ला लैगो……’