डोल्पा : भेरी करिडोरअन्तर्गत जाजरकोट डोल्पा सडकखण्डमा पर्ने तल्लुबगरमा निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । पुलको प्लेट पाता पुर्याउने क्रममा बिहीबार दिउँसो बेलिब्रिज भाँचिएर दुई जनाको मृत्यु भएको हो ।
भारत महापुर जिल्ला बहराईच घर भएका ४० वर्षीय पुरोस्तीम चमार र सोही ठाउँका कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमारको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा भारत महपुर जिल्ला बहराईच घर भएका ३० वर्षीय गोरखनाथ सन्जय गौतम, २५ वर्षीय सोनु चमार, १९ वर्षीय गोपाल चमार, ४६ वर्षीय मैक कुमार गौतम, ५१ वर्षीय प्रसान्तम राजकुमार र क्रेन चालक नवलपरासी घर भएका २५ वर्षीय निरजकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते ५ जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने एक जना क्रेन चालक चौधरीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
जाजरकोट नलगाड १२ मा पर्ने तल्लुबगर भेरी नदि माथिको यो पुलले जाजरकोट र रुकुम पश्चिमलाई जोडेर डोल्पा सदरमुकाम दुनैसम्म सिधा यातायात जोड्छ ।
भेरी करिडोरअन्तर्गत मुख्य पुलकाे रुपमा लिएर निर्माणको अन्तिम चरणमा पुगेको पुल भाँचिनु शंकास्पद रहेको स्थानीयहरुको भनाइ छ ।