☰ open Loading... 17 May 2024|  

५४ अर्बले घट्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट सिलिङ
  | १३ बैशाख २०८०, बुधबार ०५:२५

काठमाडौं : संघीय सरकार अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको सिलिङ घटेको छ । अर्थमन्त्रालयले मुख्य गरेर धेरै पुँजीगत खर्च गर्ने मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको हो ।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै ५४ अर्ब रुपैयाँले मन्त्रालयको बजेट सिलिङ घटेर आएको बताए । उनका अनुसार चालु आर्थिक वर्षका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी आवका लागि एक खर्ब १३ अर्बको मात्रै सिलिङ आएको हो ।

 

चालु आर्थिक वर्षको भन्दा पनि बजेट सिलिङ घटेर आएपछि काम गर्न चुनौति सिर्जना भएको मन्त्री ज्वालाले बताएका छन् । ‘चालु आवको भन्दा पनि कम बजेटको सिलिङ हामीलाई आएको छ, थप बजेट माग्नुपर्ने अवस्थामा घटेर आउँदा योजना अधुरा नै हुन्छन की भन्ने हाम्रो अनुमान हो, उनले भने, थोरै बजेटमा काम गर्न चुनौती छ, योजना अनुसारको काम गर्नसक्ने अवस्था नै भएन, कम बजेट हुँदा नयाँ आयोजना थपिदैन ।’

 

बजेट सिलिङ कटौति भएपछि मन्त्रालयले नयाँ योजना तथा कार्यक्रमलाई कम प्राथमिकता दिने र निरन्तरताकै आयोजनालाई प्राथमिकता दिएर काम गर्ने मन्त्री ज्वालाले बताए । बजेटको सिलिङ घटेको अनुपातमा आगामी आर्थिक वर्षमा मन्त्रालयको ४० प्रतिशत पुँजीगत खर्च घट्ने मन्त्रालयका सचिव केशवकुमार शर्माको भनाइ छ ।

 

मन्त्रालयले चालु आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने १२ अर्ब फ¥छयौट गर्न सकेको छैन् । अर्थमन्त्रालयमा भुक्तानीको लागि नियमित पहल गर्दा पनि भुक्तानी हुन नसकेको उनले बताए । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेटको सिलिङ तोकेको छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । चालू आवमा ल्याईएको बजेटभन्दा आगामी आवका लागि १ खर्ब ५ अर्ब ३९ करोड कमको सिलिङ दिइएको छ ।