☰ open Loading... 7 September 2024|  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको हाताभित्रै फोहोरको थुप्रो
  | १९ बैशाख २०८०, मंगलवार ०५:३०

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्र जम्मा गरेर राखेको फोहोर चार महिनादेखि उठ्न सकेको छैन । फोहोरका कारण अस्पतालमा दुर्गन्ध फैलिने खतरा बढेको छ । अस्पतालभित्रको शव घर नजिकैको खाली जमिनमा खुला रुपमा फोहोर थुप्रिएकोले दिनप्रतिदिन दुर्गन्ध फैलिइरहेको हो ।

कुहिने देखि नकुहिने फोहोर एकै ठाउँमा राखिएको छ । प्रयोग गरिएका सिरिन्जहरूदेखि शल्यक्रिया गर्दा प्रयोग भएका औजार उपकरणहरूसमेत यत्रतत्र फालिएको अवस्था छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर उठ्न नसक्नु विडम्बना भएको स्थानीय जयबहादुर बोहोराले जानकारी दिए ।

उनका अनुसार फोहोरको दुर्गन्धले स्वस्थ मानिसहरूसमेत बिरामी हुने गरेका छन् । फोहोर भएको स्थानमा चराचुरुगीहरूदेखि कुकुरहरूसमेत आउने गरेकाले छरपस्ट देखिन्छ । अस्पताल निर्देशक डा. राजिव शाह चार महिना देखिको फोहोर उठ्न नसकेको बताइरहेका छन् ।

उनले भने, ‘फोहोर संकलन अस्पतालले गर्नुपर्ने हो । संकलित फोहोर नगरपालिकाले उठाउनुपर्ने हो तर चार महिनादेखि फोहोर जम्मा मात्रै भइरहेको छ । उठ्न सकेको छैन ।’ उनका अनुसार फोहोर उठाउनका लागि नगरपालिकासँग सम्झौता भएको छ । १५ देखि २० वटा ट्याक्टर भरिने गरी अस्पतालको हाताभित्रै फोहोर थुप्रिएको उनको भनाइ छ ।

 

गर्मी सिजन सुरु भएको र वर्षा पनि भइरहेकाले फोहोरले अझै दुर्गन्ध फैलन सक्ने उनले बताए । अस्पतालमा थुप्रिएको फोहोर व्यवस्थापन गर्नसमेत चन्दननाथ नगरपालिकालाई अस्पताल प्रशासनले आग्रह गरेको छ ।

पटक–पटक फोहोर उठाउन नगरपालिकासँग समन्वय भइरहेको छ । तर नगरपालिकाले फोहोर उठाउन मानिरहेको छैन । फोहोरका कारण ओपीडीमा उपचार गर्न आउने बिरामीदेखि अस्पताल हुँदै ओहोरदोहोर गर्ने नागरिकहरू प्रभावित हुने गरेका छन् । बिरामीहरूले नाक बन्द गरेर ओहोरदोहोर गरिरहनुपरेको गुनासो गरेका छन् । सदरमुकाम खलंगादेखि कर्णाली प्राविधिक शिक्षालयतिर जाने सडकछेउमै फोहोर थुप्रिएकाले आवतजावत गर्न कठिन भइरहेको स्थानीय बताउँछन् ।

अस्पतालको अधिकांश फोहोर जुगाडखोलामा समेत फाल्ने गरिएको छ । यता चन्दननाथ नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइड नभएकाले फोहोर उठाउन नसकिएको जनाएको छ । नगरपालिकालाई सदरमुकाम खलंगा बजारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे छ । अस्पतालको फोहोर उठाउनेतिर ध्यान नै गइरहेको छैन ।

फोहोरले दुर्गन्ध फैलिएकाले छिटोभन्दा छिटो फोहोर उठाउन स्थानीयले आग्रह गरेका छन् । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टैसमेत राखिएको छैन

अस्पताल प्रशासनका अनुसार फोहोर दैनिक रुपमा उठाउने र फोहोर उठाएबापत मासिक ६ हजार रुपैयाँ उपलब्ध गराउने नगरपालिकासँग सम्झौता भएको छ । सम्झौताअनुसारको रकम गइरहे पनि फोहोर उठिरहेको छैन । अस्पतालसँग फोहोर व्यवस्थापनको कुनै विकल्प नभएपछि नगरपालिकासँग सम्झौता भएको अस्पतालले जनाएको छ ।

नगरपालिकाले फोहोर नउठाइदिएपछि तत्कालका लागि चेरेचौरमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा खाडल खनेर व्यवस्थापन गर्ने कि भन्ने विषयमा समेत छलफल भइरहेको छ । आगामी दिनमा नगरपालिकासँग बसेर फोहोर उठाउनेबारे गहन छलफल अघि बढाउनेसमेत अस्पतालले योजना बनाइरहेको छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रको फोहोर उठ्न नसक्नुले नकारात्मक सन्देश फैलिइरहेको स्थानीय सुनौलो क्षेत्रीले जानकारी दिए । फोहोर उठाउन पहल गर्न नसक्ने अस्पताल र फोहोर नउठाउने नगरपालिका दुवैले कर्णालीवासीको स्वास्थ्यमा खेलबाड गरेको आरोप स्थानीयको छ ।कान्तिपुरबाट