☰ open Loading... 26 July 2024|  

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
  | २० बैशाख २०८०, बुधबार ०५:२०

हुम्ला : हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न नसकेका हुन् । हुम्लालाई अन्तरजिल्ला जोड्ने एक मात्र माध्यम हवाई सेवा भएपनि जिल्लाको मौसम बिग्रिँदा नेपालगन्ज र सुर्खेतदेखि जिल्लाका  लागि कुनै उडान भएको छैन ।

 

शनिबार रातिबाट  जिल्लाको मौसममा फेरबदल भइ पानी परेपछि तीन दिनबाट सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट हवाई सेवा हुन सकेको छैन । हवाई सेवा नहँुदा नेपालगन्ज र सुर्खेतदेखि आउने यात्रुसहित कार्गो सामान आउन पाएको छैन ।

 

त्यस्तै हुम्लादेखि नेपालगन्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिएको सिमकोट विमानस्थलले जनाएको छ । नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट, सिता र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएका थिए । हुम्लाको मौसम बिग्रिएकाले नेपालगन्जबाट सिमकोटका लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी हुन  रोकिएको छ । यात्रुहरु नेपालगन्ज, सुर्खेत र सिमकोटमै अलपत्र परेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए ।

 

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन ।  जिल्लाको व्यापार व्यवसाय जहाजकै भरमा चल्ने भएकाले जिल्लाका व्यवसायिक अहिले मर्कामा परेका छन् । राष्ट्रिय सडक सञ्जालसँग  नजोडिएको एक मात्र जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध हुँदा समस्या भएको हो ।