सल्यान : शारदा नगरपालिका १ शान्तिनगरकी निर्मला वादीलाई आजभोलि नगरपालिकाले घर भत्काइदिने हो भन्ने चिन्ताले रातभर राम्रोसँग निदाउन सक्दिनन्। एक किलो मिटर टाढा रहेको श्रीनगर बजारमा ऐलानी जग्गामा बनेका घर टहरा नगरपालिकाले भत्काए पछि अब आफ्नो पनि घर भत्काउँछ की भन्ने सधै मन चिसो पसी रहन्छ। उनीलाई निन्द्रा नलाग्नुको एउटै कारण हो : घर छ तर लालपुर्जा छैन।
सरकारले जनताआवास कार्यक्रम मार्फत शान्तिनगरका वादी समुदायका लागि ३८ घर बनाइदिएको छ। तर लालपुर्जा दिएको छैन। घर भए पनि आफ्नो हातमा लालपूर्जा नहुँदा आफ्नो घर जस्तो नै नलागेको उनले सुनाइन्।
उनले भनिन्, ‘सरकारले घर त दियो तर लालपूर्जा दिएन्। लालपूर्जा नहुँदा दैनिक जीवनमा नै अफ्ट्यारो हुने रहेछ।’
शान्तिनगरकी ३८ वर्षीया पुष्पा वादीको पनि पीडा निर्मलाको भन्दा फरक छैन। दिनरात बालुवा गिट्टी कुटेर बनाएको घर कहिले भत्किन्छ की भन्ने डरले सताउने गरेको उनले बताइन्। घर बनाउदा उनलाई जति खुशी थियो त्यो खुशी अहिले चिन्तामा बदलिएको छ। किनकी आफूले सरकारको आधा र आफ्नो आधा लगानी गरी बनाएको घर आफ्नो नाममा छैन। घर नाममा दर्ता नहुँदा उहाँलाई दिनरात नभनी बनाएको घरको लगानी डुब्छ कि भन्ने चिन्ता छ।
उनले भनिन्, ‘यो घर बनाउन मैले कतिदिन भोकै प्यासै बालुवा गिट्टी कुटेकी छु। मेरो कति पसिना बगेको छ मलाई मात्र थाहा छ।’
शान्तिनगरमा वि.स २०३५ सालदेखि वादी समुदाय बस्दै आएको स्थानीयको भनाइ छ। बसोबास गर्न थालेको झन्डै ४० वर्ष भन्दा बढी भइसक्दा समेत शान्तिनगरमा बसोबास गर्दै आइरहेका ३८ वादी समुदायले आफ्नो नाममा एक टुक्रो जमिन पाउन सकेका छैनन्।
हामी यहाँ बस्न थालेको ४० वर्ष भन्दा बढी भयो। अझै कति वर्ष बसेपछि लालपूर्जा पाइन्छ स्थानीय सुनिला वादीले प्रश्न गरिन्। उनले भनिन् ‘सरकारले यहाँ बस बनेर जग्गा दियो, घर पनि बनाइ दियो तर लालपूर्जा दिन किन आनाकानी गरि रहेको छ हामीले बुझ्न सकेका छैनौं।’
शान्तिनगरका ३८ घरपरिवार मध्ये ९-१० जनाले मात्र लालपूर्जा पाएको उनको भनाइ छ। आफूले वषौंदेखि बसोबास गरेको जमिन कसरी नाममा लिने भनेर पिरलोले सताउने गरेको उनले बताइन्। उनले भनिन्, ‘वषौंदेखि भोगचलन गरेको घर जग्गा आफ्ना नाममा बनाउन पाए साहु ऋण गरेर व्यवसाय गर्न हुन्थ्यो।’