☰ open Loading... 19 June 2024|  

हिमाली गाउँहरू संकटमा : असोजमा वर्षा जेठमा हिउँ
  | ४ असार २०८०, सोमबार ०५:३३

 डोल्पा । साल्दाङ माथिल्लो डोल्पाको एउटा गाउँ । ४ हजार ५० मिटर उचाइको यो गाउँमा म यतिखेर (जेठ १८) निमा ल्हामुको भान्साकोठामा छु । कोठाको बीचमा फलामले बेरिएको तिब्बती चुल्हो छ । आगोको रापले तात्तिने फलामको न्यानो कोठाभरि फैलिएको छ । हावा समेत छिर्न मुस्किल हुने गरी झ्याल–ढोका बन्द गरिएका छन् ।

चर्को घाम लागे पनि बाहिर हावाको गतिले भने एकनिमेष पनि उभिन दिंदैन । मध्य जेठमा यहाँ पानी परिरहेको, बेतोड हावा चलिरहेको छ । एक दिन पहिले शे–ला (शे पास)मा हिउँ परिरहेको थियो ।

‘उडाउँछ कि क्या हो’ ल्हामुको घरको ढोका खोल्दै भित्र छिरे कर्मा वाङगेल । साल्दाङका ४५ वर्षे यी रैथानेको गुनासो सुरु भयो– ‘हिजो, अस्ति हिउँ पर्यो । अहिले बतास लाग्यो ।’

उवा (जौ) छर्न भनेर खेतमा काम गरिरहेका वाङगेल बतासको चिसो सहन नसकेपछि तातोपानीको खोजीमा ल्हामुको होटल छिरे । घरको ढोकामा आइपुग्ने परिचित–अपरिचित जो–कोहीलाई तातोपानीले स्वागत गरेपछि मात्र हालखबर, ठाउँ, ठेगाना सोध्ने चलन छ यहाँ । ल्हामुले दिएको तातोपानी सुरुप्प पार्दै वाङगेल फलामको तिब्बती अँगेनो छेउ बसे । घाम लागे पनि जाडो भइरहने माथिल्लो डोल्पामा हर कोहीलाई चुल्हो छेउ बस्ने सुविधा छ ।

माथिल्लो डोल्पाका नांगा पहाडमा रूख, बिरुवा उम्रिंदैनन् । घर न्यानो बनाउन, खाना पकाउने इन्धनको काम खच्चड, घोडा, याक, चौंरीको सुकेको गोबर गुइँठाले गर्छ । हरेक घरमा यी हिमाली जनावरको सुकेको गोबरको खात हुन्छ । हावाको वेग बढ्ता भएकै हुँदा निमा ल्हामु आज दाउरा (सुकेको गोबर) खोज्न गइनन् । पातलो कायाकी उनी ठट्टा गर्छिन्, ‘मलाई त उडाउँछ यो हावाले !’

पहिला पहिला माथिल्लो डोल्पावासी महिना अनुसार अब कस्तो मौसम हुन्छ भनेर अनुमान गर्न सक्थे । आकाश, बादल हेरेर, हावाको गति महसुस गरेर मौसम पूर्वानुमान गर्न सक्थे । पुर्खौंदेखि चलिआएको यही चलन अनुसार उनीहरू आफ्नो काम तय गर्थे । ‘अचेल अनुमान गर्न सकिंदैन’ वाङगेलले एक कप तातोपानी रित्याइसके, ‘जेठको मध्यमा हिउँ त पर्दैनथ्यो । असोजमा ठूलो पानी पर्छ । आजकाल पुस–माघमा हिउँ पर्दैन ।’

जेठको मध्यमा पनि हिउँ परेकै कारण उनले बारीमा उवा (जौ) छर्न पाएका छैनन् । हिउँ परेकै कारण उनले आफ्ना याक, चांैरी लेकतिर चर्न छोडेका छैनन् । याक, चौंरी लेकतिर लगेपछि उनी यार्सा खोज्न निस्कन्थे । तर, यसपटक हिउँले उनको उकालो यात्रा रोकिरहेको छ ।

शे–फोक्सुण्डो तालबाट साल्दाङ आउन सामान्यतः ५३०० मिटरको ‘कांग–ला’ को बाटो हुँदै आउनुपर्छ । तर, यसपटक ‘कांग–ला’मा परेको हिउँ अझै पग्लिएको छैन । त्यसैमाथि हिउँ थपिएपछि बाटो ठप्प भयो । माथिल्लो डोल्पा हिंडेका हामीले एक दिन लामो यात्रा गर्दै लार्चा (लेकको फेद) हुँदै फूलबारी पास (मेन्दोकतिङ–ला) हुँदै यात्रा गर्नुपर्यो ।

सडक नपुगेका कारण माथिल्लो डोल्पाका गाउँ पुग्न पैदल यात्रा गर्नुपर्छ । हिंड्न नसक्नेहरू घोडा चढ्छन् । खच्चड, याक, घोडा, चौंरी यहाँका मालवाहक सवारी हुन् ।

हावा चलेन भने कुनै–कुनै गाउँमा फोन लाग्छ । शे–फोक्सुण्डो गाउँपालिकाको कार्यालय भएका कारण साल्दाङमा नेपाल टेलिकमले टावर राखेको छ । तर, जसै हावा चल्छ फोन सम्पर्क हुन छाड्छ । दिउँसो ११/१२ बजेपछि हावाको गति बढ्छ । साँझपख साल्दाङ पुग्दापुग्दै हामीले फोन चलाउन थालेको देखेपछि निमा ल्हामुले भनेकी थिइन्, ‘फोन त बिहान मात्रै लाग्छ ।’

मौसम र भूगोलले त्यसै पनि कष्टकर बनाएको हुन्छ हिमाली जीवन । कान्जिरोवा हिमशृंखलालाई दक्षिणतिर पार्दै उँभो लागेपछि माथिल्लो डोल्पाका पठारहरू देखिन्छन् । यी पठारका फेदमा छन् माथिल्लो डोल्पाका गाउँहरू ।

हिमालपारिको माथिल्लो डोल्पावासीलाई मौसमले आजभोलि धेरै दुःख दिन थालेको छ । मौसमको गति नाप्न खप्पिस यी डोल्पालीको यो ज्ञान अब प्रयोगहीन हुन थालेको छ । मौसमको भेउ पाउन नसक्दा गत वर्ष मात्रै कर्माका ६ वटा चौंरी मरे । कारण थियो कु–समयमा परेको हिउँ । हिउँद लाग्न थालेसँगै माथिल्लो डोल्पावासीहरू औल (तल) झर्छन्

गत वर्ष ढिला गरी हिउँ परेपछि कर्माले आफ्ना चौंरी औलतिर झार्न सकेनन् । ‘ढिला हिउँ पर्यो, चौंरी तल लैजान सकिएन’ कर्मा भन्छन्, ‘हिउँ परेपछि यतै बस्नुपर्यो । घाँस नभएपछि भोकले ६ वटा चौंरी मरे ।’

यसपटक पनि जेठमा हिउँ परेकै कारण कर्माले आफ्ना चौंरी र याकहरू लेकतिर पठाएका छैनन् । ‘यस्तो समयमा परेको हिउँले पहिरो आउँछ । याक, चौंरी पहिरोमा मर्छन्’ कर्माले सुनाए । कतिसम्म भने गत वर्ष असोजमा परेको पानीले यहाँको उवा बारीमै कुहियो ।

‘गत वर्ष असोजमा पानी पर्यो, उवा जति सबै खेतमा कुहियो’ तीन महिना मात्रै पुग्ने बालीनाली समेत कुहिएपछि कर्माले याक बेच्न सुरु गरे । याक र चौंरी बेचेको पैसाले उनले गत वर्ष आफ्नो परिवारको पेट पाले । असारमा हुने वर्षा असोजमा भयो, माघ–फागुनको सट्टा जेठमा हिउँ परिरहेको छ ।

उनको आम्दानीको एउटा स्रोत यार्सा पनि थियो । तर, पछिल्ला वर्षहरूमा मौसममा देखिएको परिवर्तनले यार्सा पनि भेटिंदैन । यार्सा खोज्न भनेर उच्च हिमाली पाटनतिर उक्लिएकाहरू पनि ओरालो झरिरहेका भेटिन्छन् । यार्सा ४ हजारदेखि ५ हजार मिटरको उचाइमा फेला पर्छ ।

मेन्दोकतिङको फेद (लार्चा) मा करिब एक दर्जन पाल गाडिएका छन् । चारैतिर हिउँले ढाकेको पहाडको फेदमा रहेको यो सानो चउरलाई यार्सा खोज्न आएकाहरूले आफ्नो अस्थायी मुकाम बनाएका छन् ।

गाउँघर सुनसान बनाएर हिमालको काखमा यार्सा खोज्न आइपुगेका धेरैजसोको अहिले हात खाली छ । उकालो चढ्न नसक्ने बुढाबुढीलाई घरमा छाडेर आएकाहरूमध्ये कति त धमाधम ओरालो झर्न थालेका पनि छन् ।

फूलबारी पाटनबाट रित्तैहात फर्किंदै गरेको भेटिए प्रवेश बिक र लालबहादुर थापा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का यी दुई दौंतरी यार्साको खोजीमा १ जेठमा नै फूलबारी पाटन पुगेका थिए ।

‘यसपालि किडा (यार्सा) भेटिएन’ ओरालो झर्दै गरेका उनीहरू हतारमा थिए । सम्पूर्ण परिवार सहित यार्सा खोज्न पाटन उक्लिंदा लगेको सामल (खाद्यान्न) सकिएपछि गाउँ झरेका हुन् उनीहरू । ‘अब सामल बोकेर फेरि उँभो जाने’ उनीहरू सुनाउँछन् ।

वर्षका ११ महिना खेतीपाती, मजदुरी गरेर जीविका चलाउने बिक र थापाका लागि पैसा कमाउने सुवर्ण मौका हो यार्सा खोज्ने मौसम । यसपटक १२ दिनसम्म हिमाली मैदानमा घिस्रिएर आँखा गाड्दा पनि उनीहरूले यार्सा फेला पार्न सकेनन् । ‘हिउँ बाक्लो छ, किडा भेटिएन’ उनीहरू सुनाउँछन्, ‘यहाँबाट लगेको सामल सकियो । हामी त सामल लिन गाउँ झरेका ।’

यार्सा भेटिने हिमाली मैदानमा त्रिपालको सहारामा रात बिताउने थापा र बिक जस्ता यार्सा संकलनकर्ताले तलबाटै खानेकुरा बोकेर लैजान्छन् । थापा र बिकको गाउँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । उनीहरूले यार्सा खोज्न जानका लागि प्रतिव्यक्ति २५०० रुपैयाँ शुल्क पनि तिर्नुपर्छ ।

यार्सा फेला नपरेपछि हिमाली मैदानबाट ओरालो झर्नेहरू दुनैदेखि फूलबारी पुग्दासम्म बाटोभरि भेटिए । ओरालो झर्नेहरू अधिकांश फेरि उकालो चढ्ने योजना सहित तल झरेका हुन् । तलबाट लगेको खानेकुरा सकिएपछि खानेकुरा लिन झर्नेहरूले हिमालमा यार्सा नभेटेको गुनासो बोकिल्याएका छन् ।

शे–फोक्सुण्डो गाउँपालिकाको र्‍याची गाउँको बाटोमा हस्याङफस्याङ गर्दै ओरालो झरिरहेका थिए चन्द्रबहादुर महतरा । २४ वर्षे यी नौजवान श्रीमती सहित स्याक्पारे पाटनमा यार्सा खोज्न गएका थिए । तर, उनले यार्सा भेटेनन् । तलबाट लगेको सबै खानेकुरा सकिएपछि उनी श्रीमतीलाई पाटनमै छाडेर खानेकुरा लिन ओरालो झरेका हुन् ।

महतराको अनुहारमा चिन्ताका रेखा प्रष्ट देखिन्थे । उनले गाउँ पुगेर कुल देउताको पूजा गर्ने योजना रहेको सुनाए । ‘यसपटक किडा फेला परेन । अब गाउँ गएर धामी हेराउँछु’ उनले सुनाए, ‘देउता सप्रेन जस्तो छ यसपालि ।’

१४ वर्षको उमेरदेखि यार्सा खोज्न हिमाल उक्लिंदै आएका महतराले पहिलो पटक यसपालि खालीहात फर्कनु पर्यो । अहिलेसम्म उनी यसरी ओरालो झर्दा उनको साथमा कि यार्सा हुन्थ्यो कि यार्सा बेचेको पैसा । ‘पहिला पहिला त १२/१५ दिनमै दुई/तीन सय फेला पथ्र्यो’ उनी चिन्ता मान्दै भन्छन्, ‘यसपटक हिउँ ढिला पर्यो किडा भेटिएन ।’

यार्सालाई डोल्पालीहरूले बोलीचालीको भाषामा दुईवटा नाम दिएका छन्– किडा र जडीबुटी । डोल्पो भाषामा भने यार्चागुन्बु भनिन्छ । डोल्पो भाषामा यार्चाको अर्थ बर्खे च्याउ र गुन्बुको अर्थ हिउँदे कीरा हो ।

यही हिउँदे कीरा खोज्न फूलबारी पाटनमा एक हप्ता बिताइन् आङ्बो गुरुङले । एक हप्ता बिताउँदा पनि हिउँदे कीरा फेला नपारेपछि उनी सामल मात्र रित्याएर फकिईन् । फोक्सुण्डो गाउँपालिका–९ पुग्मो गाउँकी गुरुङ यतिखेर रिग्मो गाउँमा पाल टाँगेर बसेकी छिन् ।

गुरुङले पैसा कमाउने एक मात्र स्रोत हो यार्सा । तर, यसपटक उनी रित्तो हात फर्किइन् । अचेल उनी कान्जिरोवा हिमालसँग जोडिएको चेजुङ पाटनतिर आँखा डुलाई बस्छिन् । हिउँले पुरिएको चेजुङ पाटनमा आँखा डुलाउँदै उनी भन्छिन्, ‘अब त्यहाँ हिउँ पग्लिएपछि जान्छु ।’

हिउँ पग्लिने प्रतीक्षामा हिमालतिर आँखा डुलाइरहेकी उनका श्रीमान् निमा लामा पनि पुग्मो गाउँबाट रिग्मो आइपुगेका छन् । उनी पनि यसपटक श्रीमतीसँगै यार्सा खोज्न जाने सुरुमा छन् ।

यार्सागुम्बा डोल्पालीको लागि आर्जनको मुख्य स्रोत हो । तल्लो डोल्पातिर सामान्य खेतीपाती भए पनि माथिल्लो डोल्पामा हुने खेतीपातीले तीन महिना पनि खान पुग्दैन । फोक्सुण्डो गाउँपालिका ८ का वडाअध्यक्ष निमा लामाका अनुसार डोल्पालीहरूले यार्साबाट भएको आम्दानीले कम्तीमा ७ महिना धान्छन् ।

‘यहाँका मान्छेको ७ महिना जति यार्साको पैसाले धान्छ । यसपालि यार्सा भेटिएको छैन, मान्छेहरूलाई गुजारा गर्न समस्या हुन्छ’, उनी भन्छन् । करिब ४ हजार मिटरमाथिको उचाइमा फेला पर्ने यार्सागुम्बा यहाँका मानिसको ‘लाइफलाइन’ पनि हो ।

यार्साका लागि महिनौं हिमाली पाटनमा बिताउनेहरूसँग कुनै न कुनै दिन यार्सा भेटिने आश बाहेक अरू केही हुँदैन । वडाअध्यक्ष निमा लामाका अनुसार यार्साको आकार, बनोट अनुसार प्रति गोटा २०० देखि ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

यार्सागुम्बा डोल्पालीका लगि कति महत्वपूर्ण छ भने दुईमहिने बालक बोकेर रमिला गुरुङ यार्सा खोज्न साइपाटनतिर उक्लिने तयारीमा छिन् । यार्साको खोजीमा पाटन उक्लिनका लागि उनले घरपूजा पनि गरिसकिन् । घरको दैलोमा राखिएका दुईवटा कलश देखाउँदै उनले भनिन्, ‘अब भोलि उकालो लाग्छौं ।’

उनले त्यसो भनिरहँदा छेउमा उनका श्रीमान् रविन घोडा तयार पार्दैथिए । दुईमहिने शिशु च्यापेर ४ हजार मिटर माथिका पहाडमा यार्सा खोज्ने हिम्मत जुटाएकी छिन् रमिलाले । ठूलीभेरी नगरपालिका १० खलरुबी गाउँकी रमिलाको परिवार नै यसपटक साइपाटन जाँदैछ ।

यार्सा खोज्ने पाटनमा उनको जिम्मेवारी हुनेछ पुरुषका लागि खाना पकाउने । उनी सुनाउँछिन्, ‘त्यहाँ गएर लोग्नेमान्छेलाई खाना पकाइदिने, तातोपानी खुवाउने ।’

‘तपाईं आफैं किन यार्सा नखोज्ने ?’

‘लोग्नेमान्छे दारु खान्छन्, आँखा तिखो हुन्छ किडा देखिहाल्छन्’, उनी हाँसिन् ।

यार्सा टिप्ने मौसममा यहाँका विद्यालय पनि १५ दिनका लागि बन्द हुन्छन् । आधिकारिक रूपमा १५ दिनको बिदा भने पनि विद्यार्थी एक महिनासम्म स्कुल आउँदैनन् । साल्दाङको शेल्री डुग्ड्रा आधारभूत विद्यालय बन्द भइसकेको छ ।

फोक्सुण्डो गाउँपालिका ३ मा पर्ने साल्दाङका वडाअध्यक्ष पेमा गुर्मे गुरुङ भन्छन्, ‘१५ दिन बिदा भए पनि अभिभावकसँग गएका बालबालिका एक महिनापछि मात्र फर्किन्छन् ।’ स्कुले बिदामा यार्सा खोज्न निस्केका यस्तै एक बालक हुन् १२ वर्षे अजय बुढा । त्रिपुराकोटका अजय साइपाटनमा यार्सा नभेटेपछि सामल लिन ओरालो झरेका हुन् । ६ कक्षामा पढ्ने अजयका आमा र दाइ माथि पाटनमै छन् ।

एकसरो पातलो लुगामा हिमाली मैदानमा किडा खोज्न गएका उनका गाला र हातमा चिसो हावाले चिरेका दाग प्रष्टै देखिन्छन् । दाइ, आमा र आफ्ना लागि सामल बोकेर फेरि उकालो चढ्ने गरी ओरालो झरेका उनी ३० किलो सामल बोकेर उकालो चढ्नेछन् । ‘सामल बोकेर फेरि जान्छु’ उनलाई हतारो छ, ‘माथि सामल सकिइसक्यो ।’

कोही कोही यार्सा फेला पार्ने भाग्यमानी पनि हुन्छन् । जस्तो कि ः चन्द्रबहादुर बुढा । श्रीमती र छोरी सहित साक्पारी पाटनबाट ओरालो झरिरहेका उनीसँग अक्करे भीरमा जम्काभेट भयो । भीरको बाटोमा भेटिएका उनी कुराकानी गर्न हच्किए । २०० वटा यार्सा बोकेर ओरालो झरेका उनी यार्सा लुटपाट हुन्छ कि भनेर डराएका रहेछन् । यार्सा बोकेको झोला श्रीमतीलाई थमाएपछि उनी हामीसँग कुराकानी गर्न तयार भए । ‘किडा छ भन्ने थाहा पाएपछि लुट्छन् यहाँ’, उनले सुनाए ।

१ जेठमा साक्पारी पाटन पुगेका उनले करिब दुई हप्ता पाटनमा बिताए । हिउँको थाक बीच नंग्रा खियाएर फेला पारेको यार्सा उनले डोल्पा सदरमुकाम दुनैमा बिक्री गर्ने सोच बनाएका छन् ।

११ वर्षदेखि यार्सा खोज्न हिमाली पाटन चढ्न थालेका बुढाको अनुभवमा पहिलेभन्दा आजभोलि यार्सा कम भेटिन थालेका छन् । ‘२०६९/७० सालतिर खुबै पाइन्थ्यो, अच्याल पहिला जति पाइँदैन’ उनी सुनाउँछन्, ‘हिउँ पनि पुस–माघ नभई जेठमा पड्न थाल्यो ।’ यो वर्षको खर्च धान्ने गरी यार्सा फेला पारेपछि बुढाको परिवार रमाउँदै ओरालो झर्यो । ओरालो झरिरहेका उनी यार्सा खोज्न उकालो चढिरहेकाहरूलाई हौस्याउँदै भन्छन्, ‘दुःख गर्यो भने किडा भेटिन्छ ।’

फूलबारी पाटनमा आफूले फेला पारेको यार्सा बुरुसले सफा गर्दैछन् दलवीर खड्का । वरिपरि साथीहरू जम्मा पारेर आगो ताप्दै यार्सा सफा गरिरहेका यी जाजरकोटेको अनुहारमा चमक छ । जाजरकोट बारीकोट गाउँपालिका १ का दलवीर आफ्ना ६ जना साथीसँग यार्सा खोज्न आएका हुन् ।

यार्सा सफा गरिरहेका उनले हिमाली पाटनमायार्सा घट्दै गएको ठानेका छन् । मौसमका कारण यार्सा कम भेटिएको ठान्छन् । उनले भने, ‘पहिला एक दिनमा सय–डेढ सय पाइन्थ्यो । अच्याल त दिनमा एक किडा पनि धौ–धौ भेटिन्छ । यो मौसमले बिगाड गर्यो ।’

मौसम र भूगोलको यो कष्ट कति दर्दनाक छ भने माथिल्लो डोल्पाबाट काठमाडौं पढ्न गएका तन्नेरीहरू घर फिर्न पनि वर्षौं कुर्छन् । सडक सञ्चार जस्ता आधारभूत सेवाबाट टाढै रहेको माथिल्लो डोल्पाका युवाहरू तपाईं–हामी जस्तो काठमाडौं शहरबाट वर्षैपिच्छे घर फर्कन सक्दैनन् । कर्मा याङजोङ, फुर्वा तेन्जिङ लामा, निमा डन्डुप गुरुङ र फुर्पा ल्हामु भेटिए बाटोमा । यी पाँचै जनाको गाउँ भिजेर हो ।

गाउँबाट पढ्न काठमाडौं आएका यी डोल्पाली तन्नेरीहरूमध्ये फुर्पा २३ वर्षपछि घर फिर्दैछिन् । निमा १४ वर्षपछि । कर्मा ६ वर्षपछि । वर्षौंपछि घर फिरेका फुर्वाले त बाटैमा आफ्ना बुबा र दिदी भेटे । काठमाडौंबाट माथिल्लो डोल्पाको भिजेर गाउँ पुग्न ७ दिन लाग्छ । यात्राको छैटौं दिनमा भेटिएका यी तन्नेरीहरू घर आउजाउ गर्न लाग्ने १५ दिनकै कारण शहरबाट आउँदैनन् ।

माथिल्लो डोल्पालीका लागि भनेर १० कक्षासम्मको स्कुल तापिचा गाउँमा छ । माथिल्लो डोल्पाका अधिकांश स्कुलमा ६ कक्षासम्म मात्रै पढाइ हुन्छ । ‘६ कक्षा भन्दा माथि पढ्न कि तापिचा आउनुपर्छ । तापिचा भएन भने दुनै, नेपालगञ्ज वा काठमाडौं’, फुर्वा सुनाउँछन् ।

६ कक्षासम्म पढिसकेपछि अधिकांश विद्यार्थी तापिचाको सट्टा काठमाडौं रोज्छन् । लामा पढ्नेहरू कोही काठमाडौं त कोही भारतको हिमाञ्चल जान्छन् । ५ वर्षपछि घर फिर्दै गरेका फुर्वाले १२ वर्षपछि भारतको हिमाञ्चलमा आनी पढेर फर्केकी आफ्नी दिदीलाई बाटैमा भेटे ।

दिदीलाई नै भेट्न भनेर काठमाडौंबाट हिंडेका उनले गुनासो गरे, ‘म घर पुग्दा नपुग्दै दिदीको छुट्टी सकिएछ ।’ फुर्वाले बाटैमा दिदी र बुबालाई ‘टाउको ठोक्काएर’ ढोगे । आफ्नो मातृभाषामा केहीबेर कुरा गरे । उकालो लाग्दै गरेका फुर्वालाई ओरालो झर्दै गरेकी दिदीले भनिन्, ‘उकालो छ तिमी जाउ रात पर्छ ।’ बुबा र दिदीलाई ओरालो पठाएर हामीसँगै उकालो उक्लिए फुर्वा र उनका साथीहरू ।

शहरबाट गाउँ आउजाउ गर्न समय मात्रै होइन खर्च पनि महँगो छ माथिल्लो डोल्पालीका लागि । ‘सामान्य लुगाकपडा लगाएर यहाँ यात्रा गर्न सकिंदैन’ २३ वर्षपछि गाउँ फर्किंदै गरेकी फुर्पाले ५२०० मिटरको फूलबारी पासको उकालोमा सुनाइन्, ‘हिमालमा लगाउने लुगा किन्नै खर्च हुन्छ । टेन्ट, स्लिपिङ ब्याग र खानेकुरा पनि बोक्नै पर्यो । खर्चको त हिसाब नै नगरौं !’

लार्चामा यार्सा खोज्न आएकाहरूसँग लगर (फापरको रोटी) किनेर ल्याएका यी डोल्पाली तन्नेरीले ५२०० मिटरको पास चढ्नु अगाडि रोटीको पोको फुकाए । रोटीको टुक्रा हामीतिर सोझ्याउँदै निमाले भने, ‘यो खानुहोस् नभए उकालो चढ्न सकिंदैन ।’

१२०० वर्ष पुरानो शे गुम्बा पुग्दासम्म निमाले सम्झाइरहे, ‘हिउँले गलाएको माटोमा त्यत्तिकै खुट्टा नटेक्नु । चौंरी, घोडा, खच्चडले टेकेको ठाउँमा टेक्नु, उसले टेकेर दबेको माटो अडिएर बसेको हुन्छ ।’ वर्षौंपछि गाउँ फर्किएका यी तन्नेरीहरू कात्तिकसम्म गाउँमा बस्नेछन् । ‘कात्तिकदेखि गाउँका मान्छेहरू सबै तल झर्छन्’ निमा भन्छन्, ‘हामी पनि त्यतिखेरै फर्किन्छौं ।’

मौसमसँगै चिनियाँ नाका नखुल्दा माथिल्लो डोल्पावासी कष्टकर जीवनयापन गर्न बाध्य छन् । सन् २०१९ मा कोभिड कहर सुरु भएसँगै चीनले नेपाल जोडिएका सबै नाका बन्द गर्यो । डोल्पाका मरिम र क्याटो नाका पनि बन्द भए ।

यी नाका अहिलेसम्म खुलेका छैनन् । यी नाका नखुल्दा कर्मा जस्ता हजारौं बासिन्दाले नुन, चिनी, चामल जस्ता खाद्य वस्तुका लागि सदरमुकाम दुनै धाउनु परिरहेको छ । साल्दाङबाट दुनै पुग्न कम्तीमा तीन दिन लाग्छ । ‘घोडा, खच्चड त लैजान सकिन्छ । याक र चौंरीलाई गर्मी हुन्छ लैजान सकिंदैन’, कर्मा गुनासो गर्छन् ।

चिनियाँ नाका खुल्ने छाँट नदेखेपछि डोल्पालीहरू आफ्ना याक पनि बिक्री गर्दैछन् । शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भन्छन्, ‘सदरमुकाम दुनैबाट सामान ल्याउन साह्रै महँगो पर्छ । माथिको नाका खुल्दा सामान सस्तो पाइन्थ्यो । जडीबुटी, यार्सा व्यापार गर्न सजिलो थियो ।’

माथिल्लो डोल्पाका तीन वटै गाउँपालिकाले आफ्नो गाउँसभाबाट चिनियाँ नाका खुलाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेका छन् । ‘नाका खुलाइदेऊ भनेर हामीले संघीय सरकारलाई हरेक गाउँसभाबाट निर्णय गरेर पठाउँछौं’ अध्यक्ष गुरुङ भन्छन्, ‘सरकारले हाम्रो कुरा सुन्दैन ।’ उनीहरूको कुरा सुन्दा लाग्छ हावाको वेगसँगै डोल्पालीको गुनासो सिंहदरबार पुग्थ्यो भने, ‘सिंहदरबारै उडाउँथ्यो ।’

डोल्पा कतिसम्म टाढा छ भने शे–फोक्सुण्डो गाउँपालिकाको कार्यालयमा अझै पनि विद्यादेवी भण्डारीको फोटो झुण्डिएको छ । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको तीन महिना बितिसक्दा पनि गाउँपालिकाले राष्ट्रपतिको फोटो ‘अपडेट’ गर्न सकेको छैन । ‘फोटो प्रिन्ट गराउन दुनै जानुपर्छ । यत्ति एउटा फोटोका लागि आउन/जान ८ दिन खर्च गरेर दुनै कसरी जानु ?’ अध्यक्ष गुरुङ भन्छन् ।

बाहिर हावाको गति अझै कम भएको छैन । निमा ल्हामुको होटल–आँगनको खाँबोमा झुण्ड्याइएको लुङ्दर फर्फराएको आवाज भित्रैसम्म सुनिन्छ । बेलाबेला हावाको वेगले ढोकामा हान्छ र ढोका खुल्न खोज्छ । हावाको गति नियाल्न ढोका उघार्न खोजे कर्माले, ढोकाको चेपबाट छिरेको हावाले छातीमै हानेपछि ढोका बन्द गरे । भन्छन्, ‘मौसम बिग्रेको छ अचेल !अनलाइन खबरबाट