☰ open Loading... 18 October 2024|  

उपमेयरले कार्यकक्षमै कुटे शिक्षा शाखा प्रमुख
  | १० भाद्र २०८०, आईतवार ०५:२०

मुसिकोट नगरपालिकाका रुकुम (पश्चिम) का उप–मेयर विमल कुमार पुनले नगरपालिकाको शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई कुटपिट गरेका छन्।

शनिबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको बेला शिक्षा शाखा प्रमुख ओलीमाथि उपमेयर पुनले हातपात गरेको हुन्।

मुसिकोट नगरपालिका –१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक छनौटका लागि परीक्षा तयारी भइरहेको बेला परीक्षा रोक्न भन्दै आएका नगर उप–मेयरले शिक्षा शाखा प्रमुख ओलीमाथि प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा हातपात गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा परीक्षा स्थगित नगरेको लगायत आरोप लगाएर उपमेयरले शिक्षा शाखा प्रमुखलाई दुई झापड हानेका थिए। परीक्षा रोक्न भन्दै आएका उपमेयरले आफूमाथि एक्कासि हातपात तथा दुर्व्यवहार गरेको नगरका शिक्षा शाखा प्रमुख ओलीले बताए।

‘परीक्षाको तयारीमा जुटेको बेला हाकिमको कोठामा उपमेयर आएर मेरो र प्रधानाध्यापकको हातमा रहेको कागजात खोसेर खोस्नु भो।’ शिक्षा शाखा प्रमुख ओलीले भने, त्यसपछि ममाथि हातपात गर्नुभयो।’ काम गरिरहेका बेला उपमेयरले हातपात गरेकोप्रति आफू कानुनी उपचारको बाटो खोज्ने ओलीले बताए।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले आफ्नै कार्यकक्षमा शिक्षा शाखा प्रमुखमाथि उपमेयरले हातपात गरेको बताए। शिक्षक छनौट समितिले परीक्षा निष्पक्ष र मर्यादित बनाउने गरेर तयारी भइरहेको बेला उपमेयरले व्यक्तिगत फाईदाका लागि दबाब दिएको बुझिएको छ।

लिखित र मौखिक छनौट परीक्षाको तयारी चलिरहेको बेला उपमेयर पुनले शिक्षा शाखा प्रमुखमाथि हातपात भएपछि परीक्षा केन्द्रमा तनाव भएपनि शिक्षक छनौट समितिले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको त्रिभुवन जनता उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले नागरिक न्युजसँग भने।

विद्यालयको लागि उच्च माध्यमिक तहको कार्यालय संचालन तथा लेखा विषयमा शिक्षक पदपूर्तिको लागि लिखित तथा मौखिक परीक्षा लिइन लागिएको थियो। यस विषयमा प्रतिक्रिया लिन खोज्दा उपमेयर पुनको फोन उठेन्।

शिक्षा शाखा प्रमुख कुट्ने मुसिकोट नगरपालिकाका उपमेयर विमल कुमार पुन।