☰ open Loading... 18 October 2024|  

एसिया कप : नेपालको फराकिलो हार
  | १४ भाद्र २०८०, बिहीबार ०५:२०

काठमाडौं । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग २३८ रनले पराजित भएको हो ।

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमै समेटियो । नेपालले मात्र १०४ रन बनायो । सुरुवातमै तीन विकेट गुमाएको नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलको विकेट लिए । भुर्तेलले ४ बलमा दुई चौकाको साथमा ८ रन बनाए । यस्तै कप्तान रोहित भने शुन्य रनमा आउट भए ।

नेपालले तेस्रो विकेटको रुपमा दोस्रो ओभरको चौथो बलमा आसिफ शेखलाई गुमायो । उनलाई नसिम शाहले आउट गरे । उनले पाँच बलमा एक चौकाको मद्दतमा ५ रन बनाए ।

चौथो विकेटका लाथि सोमपाल कामी र आरिफ शेखले ५९ रनको साझेदारी गरे । आरिफले २६ रन बनाएर आउट भए । ३८ बल खेलेका उनले ५ चौका प्रहार गरे । यस्तै सोमपालले २८ रन बनाए । उनले ४६ बलमा ४ चौका प्रहार गरे । गुल्शन झाले १३ रन बनाएपनि अन्य ब्याटर भने सस्तैमा आउट भए ।

पाकिस्तानका शदाब खानले ४ विकेट लिए । उनले ६.४ ओभरमा २७ रन दिए । शाहिन शाह अफ्रिदी र हेरिस रौफले समान २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम इफ्तिखर अहमद दुवैले शतक प्रहार गरे । बाबरले १५१ रन बनाएर आउट भए । १३१ बल खेलेका उनले १४ चौका र ४ छक्का प्रहार गरे । यस्तै आक्रामक ब्याटिङ गरेका अहमदले ६७ बलमा शतक पुरा गरे । यो उनको पहिलो एकदिवसीय शतक हो । उनले ७१ बलमा ११ चौका र ४ छक्काको साथमा १०९ रन बनाए । बाबर र अहमदले पाचौँ विकेटका लागि २१४ रनको साझेदारी गरे । मोहम्मद रिजवान ५० बलमा ६ चौकाको साथमा ४४ रन बनाएर आउट भए । यस्तै ओपनर फखर जमानले १४ रन बनाउँदा इमाम उल हकले ५ रन बनाएर आउट भए । शदाब खानले ४ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । उनले १० ओभरमा ८५ रन दिँदै बाबर र शदाबको विकेट लिए । यस्तै करन केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल भारतसँग सोमबार श्रीलंकामा खेल्नेछ ।