सुर्खेत, कर्णालीमा पर्यटन पूर्वाधार विकासका नाममा कुल देउताको मन्दिरमा बजेट (भेटी) चढाईएको छ । कर्णालीमा रहेको दाह्रेमष्ट प्रसिद्धी पूर्वाधार, भैसेखोर, मष्टा मन्दिर, कालिका मन्दिर, मालिका दुर्गा मन्दिर, मष्टा मन्दिर लगायतका दर्जनौ कुल देउताको मन्दिरमा पर्यटन विकासको नाममा कर्णाली प्रदेश सरकारले सरकारी भेटी चढाउन बजेट हालिएको हो ।
कुल देउतासहित अन्य देवीदेउताका नाममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले बजेट आफ्नो गृह जिल्ला दैलेखमा बढी हालेका छन् । मन्त्री विसीले आफ्नो जिल्लामा पर्यटन विकासका लागि टुक्रे योजना ५ लाखदेखी १ करोडसम्मको रकम हालेका छन् । डिभिजन वन कार्यालय मार्फत खर्च हुने पर्यटन विकासको पूर्वाधार निर्माण भनेर योजना बनाईएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विसीले गृह जिल्ला दैलेखमा ५० वटा टुक्रे योजनाहरु मार्फत पूर्वाधार निर्माणको नाममा कुल देवताको थानदेखी गाउँमा रहेका स–साना मन्दिरसम्मलाई वितरणमुखी योजना बनाएका छन् । सबैभन्दा धेरै कुल देउताको मन्दिर पुर्ननिर्माण, पदमार्ग निर्माण, गुम्वा निर्माण, चर्च निर्माण लगायतमा पर्यटन प्रर्वधनको नाममा टुक्रे योजनाहरु दैलेखमा बनाईएको हो । कनिका छरेझै कार्यकर्तामुखी बजेटले प्रगती शुल्य देखिने निश्चित छ । केही योजाबाहेक प्रदेशका सवै जिल्लामा कुनै एक प्रमुख गन्तब्यलाई सरकारले योजना बनाएर पैसा खर्च नगरेर छरपस्ट रुपमा योजना बनाईएको छ । जसका कारण वर्षेनी बजेट खर्च हुन्छ तर, प्रगती देखिदैन् । दैलेखमा भैरवी गाउँपालिका –२ मा मष्टा मन्दिर पूर्वाधार विकास, नारायण नगरपालिका –४ भैसेखोर मष्ट मन्दिर पूर्वाधार निर्माण, नौमुले गाउँपालिका –३ भैरमथान मन्दिर पूर्वाधारनिर्माण, दुल्लु नगरपालिका –१३ मा तियाडी मन्दिर पूर्वाधार विकास, आठविस नगरपालिका –१ मा अधिकारी मन्दिरदेखी कुकुरेथुम भाई मन्दिर पदमार्ग निर्माण, नारायण नगरपालिका –१ दैलेख बजारमा जिवन ज्योती चर्च पूर्वाधार निर्माण, डुंगेश्वर गाउँपालिका –१ चुप्रामा बौद्ध विहार पूर्वाधार निर्माण लगायत दर्जनौ कुल देउता, विहार र चर्चमा अनावश्यक बजेट विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेतमा पनि ५० वटा पर्यटन विकासका नाममा योजना बनाईएको छ । सुर्खेतमा पनि कुल देउतादेखी गुम्वासम्म पूर्वाधार निर्माणमा बजेट छुटयाईएको छ । बराहताल गाउँपालिका –५ मा बौद्ध गुम्वा पूर्वाधार निर्माण, वीरेन्द्रनगर नगरपालिका –२ ठौरी फलाटे सुर्खेत मष्टादेवी पूर्वाधार निर्माणदेखि सिम्ता गाउँपालिका –१ मा मष्टा पूर्वाधार निर्माण लगायत थुप्रै मठमन्दिरमा बजेट खन्याईएको छ । त्यस्तै कालिकोटमा १३ वटा योजनामध्ये आधा जति स–साना मन्दिरहरुको पूर्वाधार निर्माणमा रकम राखिएको छ । जाजरकोटमा १७ वटा योजना रहेको छ । जसमा जुनीचाँदी गाउँपालिका –२ मा रहेको मष्टा मन्दिरदेखि छेडागाड नगरपालिका –१२ मा रहेको मालिका मन्दिरसम्म योजना पारिएको छ ।
त्यस्तै सल्यानमा १७ वटा पर्यटकिय क्षेत्रमा योजना बनाईएको छ । यहाँ आंशिक मठमन्दिरमा भएपनि अरु पर्यटकिय क्षेत्रमा बजेट विनियोजन गरिएको छ । डोल्पामा ६ वटा योजना रहेको छ जसमा प्राय योजना पर्यटकिय क्षेत्रको पूर्वाधार निर्माण रहेको छ । डोल्पाको पर्यटकिय क्षेत्रको लागि विनियोजन गरिएको छ । नेपालकै शानको रुपमा रहेको शे फोक्सुण्डोको प्रर्वधनका लागि कुनै कार्यक्रम छैन् ।
जुम्लामा २८ वटा योजना रहेको छ । चन्दननाथ मन्दिर पूर्वाधार निर्माणमा १० लाख रकम रहेको छ । चन्दननाथ मन्दिर जुम्लाको पहिचान बोकेको मन्दिर भएपनि रकम न्यून राखेर साना मठमन्दिरमै बजेट पारिएको छ । चन्दननाथ जतिकै बजेट अन्य सामान्य मन्दिरमा पूर्वाधार र पदमार्ग भनेर हालिएको छ । जसले पर्यटन विकासमा कुनै प्रभाव पार्दैन् । नेताका पहुँच र पावरमा सामान्य मन्दिरमा लाखौं रकम खन्याईएको छ । जुम्लामा खस राज्यका प्रवर्तक नागराजको प्रतिमा स्थापना तथा सींजा सभ्यता विकास कार्यक्रम भनेर जिल्लामै सवैभन्दा बढी ३० लाख रकम विनियोजन गरिएको हो । त्यस्तै मुगुमा पर्यटकिय क्षेत्र विकासमा १६ वटा योजना राखिएको छ । यहाँ गुम्वा र केही मन्दिर बाहेक होमस्टे, पदमार्ग र रारा पर्यटकिय पूवर्धार निर्माणमा प्रदेश सरकारले ठुलो रकम विनियोजन गरेको छ । यहाँ पर्यटन प्रर्वधन हुने खालका प्राय योजनाहरु रहेका छन् । रुकुम पश्चिममा रहेका १२ वटा पर्यटकिय क्षेत्रको पूर्वाधार निर्माणमा योजना रहेको छ । जसमा रुकुम(पश्चिम)मा अन्य जिल्लामा जस्तो कुल देउताको मन्दिर, गुम्वा, चर्चका हालिएको छैन् । यहाँ जिल्लाका मुख्य पर्यटकिय क्षेत्रमा मात्र बजेट विनियोजन गरिएको छ । हुम्लामा २१ वटा योजनाहरु रहेका छन् । हेलिप्याड निर्माण, होमस्टेदेखि पूर्वाधार निर्माणसम्मका योजना रहेपनि केही कुल देउताको नाममा बजेट विनियोजन गरिएको छ ।
१५ लाख मुनिका योजनाहरु कार्यान्वयन नहुने भए अन्य योजनाहरु प्राथमिकता अनुसार कार्यान्वयनमा आउने भएकाले कुल मन्दिर लगायतका योजनाहरु कार्यान्वयनमा ल्याउन चुनौती भएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोद प्रसाद देवकोटाले बताए । ‘योजनाहरु पुर्नःविचार हुन्छ । ठोस विकास हुने योजनाहरु कार्यान्वयन हुनेछ ।’ सचिव देवकोटाले भने, उत्पादनशिल हुने, कर्णालीको दिगो विकासमा टेवा पुग्ने खालका योजनाहरु छनौट भई बजेटलाई पुन हेरिनेछ ।’ नेपाल मात्र होईन विश्वका पर्यटक तान्ने कर्णालीमा अपार सम्भावना बोकेका ठाँउहरु छन् । ती स्थानहरु प्रर्वधन र विकासमा बजेटले छोएको छैन् । झिनो बजेट गाउँगाउँमा छरेर कुल पुजा गर्ने मन्दिर त बन्ला तर, पर्यटन विकासमा ठुलो समस्याको जडका रुपमा वर्षैसम्म रहने देखिन्छ । स्थानीय तहका वडाले गर्न सक्ने कुल देउताको मन्दिर निर्माण जस्ता कामहरुमा कर्णाली प्रदेश सरकारले गरेर कर्णालीको पर्यटन विकास नहुने पर्यटनसंग सम्वन्धी ब्यवसायीहरुको भनाई छ । यसअघि ब्यापक विरोध भएपनि यसअघिका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले क्याविनेटबाटै मठमन्दिर, गुम्वा र चर्चमा बजेट नहाल्ने निर्णयसमेत गरेका थिए । पछिल्लो वर्षहरुमा त्यो निर्णय लत्याउँदै सरकारका मन्त्रीहरुले कार्यकर्ता, चुनावमुखी बजेटका नाममा कुल देउताको मन्दिर, चर्च र गुम्वामा बजेट विनियोजन गर्ने परिपार्टी कर्णालीमा हट्न सकेको छैन् ।