☰ open Loading... 20 September 2024|  

नेपाललाई १० विकेटले हराउँदै भारत सुपर चारमा
  | १९ भाद्र २०८०, मंगलवार ०५:१८

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेल वर्षाका कारण डिएल मेथड अनुसार २३ ओभरमा झरेको थियो ।

२३ ओभरमा १४५ रनको लक्ष्य पाएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्‍यो । भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले अर्धसतक बनाए । शर्माले ५९ बलमा ७४ रन बनाए भने गिलले ६२ बलमा ६७ रन बनाए । नेपालका सबै बलर विकेटबिहिन रहे ।

वर्षाले प्रभावित खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरे । उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । २५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ र कुशलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

मिडल अर्डरका ब्याटर नचलेको खेलमा नेपालका लागि आसिफ शेख र गुल्शन झाले ३१ रनको साझेदारी गरे । गुल्शन २३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ५ रन, भीम शार्की ७ तथा कुशल मल्ल २ रनमा आउट भए ।

सातौँ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५० रनको साझेदारी गरे । सोमपाल ४८ रनमा आउट हुँदा दिपेन्द्र २९ रन बनाएर आउट भए । सन्दीप लामिछानेले ९ तथा करण केसीले २ रन बनाए । भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए ।

नेपाललाई हराउँदै भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । समूह एबा भारत र पाकिस्तान सुपर चारमा प्रवेश गरेका छन् । नेपाल भने जितविहिन हुँदै एसिया कपबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।