बाबाआमाका आठ सन्तान हामी! ६ जना छोरा र दुई जना छोरी, बाबाको चर्को आवाज सुन्नेबित्तिकै सबै थरर हुने। बाबासँग सबै डराए पनि मलाई भने डर लाग्थेन।
बाबाको सामाजिक तथा नेतृत्वदायिक भूमिका मलाई निकै मन पर्थ्यो र मनमनै सोच्थें- म ठूलो भएर बाबाजस्तै बन्छु यसरी नै चौतारामा उभिएर धेरै मान्छेको अगाडि चर्को स्वरमा भाषण गर्छु, बाटो, पुल, चौतारी, मन्दिर, स्कुल बनाउँछु। बाबाको नाम प्रख्यात थियो बाबाकै कारण मलाई पनि सबैले चिन्थें। बाबा मलाई दमौलीमा सबैले हजुरकी छोरी हुँ भनेर मैले नभने पनि चिन्छन् भन्दा बाबाले मेरी कान्छी छोरी मैजस्ती छ अनि चिन्दैनन् त भन्नुहुन्थ्यो।
सबैले मेरो अनुहार हातखुट्टा बाबाको जस्तै छ भन्नुहुन्थ्यो। हामी दुवैलाई कडा दूध राखेको चिया औधी मन पर्थ्यो। हाम्रो पसल थियो बाबाले चकलेट दिँदै तिमी ठूली भएपछि तिम्रो नामले चिनाऊ है मलाई भन्नुहुन्थ्यो। हामीलाई पढ्न सजिलो होस् भनेर हाम्रो घरमा दुई जना शिक्षक राख्नुभएको थियो। एकपटक म तीन कक्षामा बोर्डफस्ट हुँदा फर्स्ट हुने मान्छे बोर्ड फर्स्ट कसरी भएँ भनेर रोएर पुरस्कार लिनै गइनँ। बाबा मंचबाट आएर तिमीले सबैलाई जितेकी हौ क्लासको नतिजा आउन बाँकी नै छ भनेपछि बल्ल पुरस्कार लिन गएँ। बाल्यकालमा कुनै कुराको अभाव हुन दिनुभएन।
बाबाले धर्मकर्मका बारेमा पनि ज्ञान दिनुहुन्थ्यो। बिहान नुहाएर सधैं धार्मिक पुस्तक पाठ गर्नुहुन्थ्यो आँखा निकै तेज थिए। मेरो बिहेपछि मेरो जीवनमा अनेक प्रकारका उतारचढाव आए। बाबा मेरा हरेक सुखदुःखको साक्षी बन्दै मलाई बाँच्ने हिम्मत दिएर शितल छहारी बनिरहनु भयो ‘ठेस लागेर मरिँदैन टाउको काटे मरिन्छ’ भन्नहुन्थ्यो।
म हरेक तीजमा जन्मघर नपुगे पनि कुशे औंशीमा बाबालाई मनपर्ने उपहार बोकेर एक दिन भए पनि बाबाको मुख हेर्न पुग्थें। मुस्कुराउँदै बाबाले ‘आजभोलि त मलाई तिम्रो बाबा भनेर सबैले चिन्छन् नि नानी’ भन्दा म हाँस्थें।
मेरो जन्मघर छाब्दी बाराही मन्दिरको गेटैमा थियो। जिल्लामा आउने जुनसुकै तहका व्यक्ति मन्दिर दर्शन गर्न जाँदा बाबासँग भेट हुने मभन्दा पहिला बाबासँग परिचय हुने रहेछ मसँग भेट्दा बाबा भेट भएको थियो हजुरभन्दा पहिला बाबालाई चिन्यौ भन्दा म खुसी निकै खुसी हुन्थें। बाबालाई मेरो र दुई नातिहरूको निकै चिन्ता थियो एक दिन कुरा भएन भने नानी तिमी सञ्चै त छौ नि भन्नु हुन्थ्यो।
पछिल्लो समय मेरो व्यस्तता बढेको थियो बाबालाई पनि श्वासप्रश्वासको समस्या देखिएको थियो। नसा दुख्छ भन्नुहुन्थ्यो घर जाँदा दम र नसाको औषधि दुई तीन महिनालाई पुग्ने लगिदिन्थें। बाबालाई हरेक बिहान बेलुका लठ्ठी टेकेरै भए पनि हिँड्नु पर्थ्यो। ८० लाग्दा पनि आफ्नो काम आफैं गर्नुहुन्थ्यो। म २०७९ चैत १ मा बाबालाई भेटेर काठमाडौं फर्कें।
काठमाडौं आएको दुई दिन नबित्दै बाबाले भिडिओ कलमा कहिले आउँछौ नानी भन्नुभयो। मैले नाति देहेरादुन गएको छ फर्केपछि आउँछु भनें। त्यही बेला बाबाले काशी, गयाजी ,ऋषिकेश, हरिद्वार, गौरीकुण्ड तथा केदारनाथ यात्राको संस्मरण सुनाउनु भयो। ४ गते साँझ फेरि कहिले आउँछौ भन्नुभयो, भेट्न मन छ भन्नुभयो। मैले दुई दिनपछि आउँछु भनें।-सेतोपाटीबाट