☰ open Loading... 20 September 2024|  

काट्छु भन्दै विद्यालयमै हँसिया लिएर पुगेपछि…
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार १५:०४

सुर्खेतको चौकुने गाउँपालिका-१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयमा भदौ ३१ गते औपचारिक कार्यक्रम थियो।

विद्यालयले शिक्षा दिवसको दिन कार्यक्रम गर्न पूर्वसन्ध्यामै तालिका बनाएको थियो। विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सहभागी भएको कार्यक्रममा एक जना युवक आएर हल्ला गर्न थाले।

मदिरा सेवन गरी गएका युवकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग विवाद गर्न थाले। विवाद गर्नेक्रममा उनले प्रधानाध्यापक लगायतलाई काट्दिने भन्दै धम्क्याउँदै थिए।

उनी विवाद गरी घर फर्किए। तर केहीबेरपछि उनले हँसिया लिएर आए, र प्रधानाध्यापकको कोठामा प्रवेश गरे।

प्रधानाध्यापक हिरादेवी भण्डारीले ती युवकबाट हँसिया खोस्ने प्रयास गरेकी थिइन्। त्यसक्रममा युवकले भण्डारीमाथि हातपात समेत गरेका थिए। अहिले उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमार्फत बाहिरिएको छ।

हँसिया बोकेर विद्यालय पस्ने युवक स्थानीय २२ वर्षीय छवि साउँद हुन्। घटनापछि प्रहरीले ईलाका प्रहरी कार्यालय बाबियाचौरले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका युवक र घटनासँग सम्बन्धित पीडितलाई बुधबार मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ।

Laxmi bank
प्रधानाध्यापक हिरादेवी भण्डारीले पनि जाहेरी दिन जिल्ला प्रहरी कार्यालयमा जाने बताएकी छन्।

ती युवकले विद्यालयमा आएर जथाभावी बोल्दै विवाद गर्न थालेपछि आफूले सम्झाउन खोज्दा हतियार प्रहार गर्न खोजेको उनले बताइन्।

The web
‘कार्यक्रम भइरहेको बेला उनी मादक पदार्थ सेवन गरेर आएका रहेछन्, आउने वित्तिकै सबैलाई काट्छु भन्न थाले। मैले सम्झाउन खोज्दा मलाई पनि काट्छु भने,’ उनले भनिन्, ‘गाउँमा गएर हँसिया समेत लिएर आएछन्, त्यही हतियार लिएर ममाथि प्रहार गर्न आए।’

साउँदले कार्यालयभित्र पुगेर आफूलाई घाँटीमा समातेर पनि पछारेको भण्डारीले बताइन्।

‘भित्र मलाई पछारेको भिडिओ आएको छैन, त्यो भिडिओ हाम्रो अर्को स्टाफले खिचेका रहेछन्, उनलाई मार्ने धम्की दिएर तिनै युवकले डिलिट गर्न लगाएको रहेछ,’ उनले भनिन्, ‘अहिले बाहिर सार्वजनिक भएको भिडिओ अफिसबाट निस्किएर मैदानमा मैले हँसिया खोस्न खोजे पछिको हो।’

घटना भएपछि साउँद फरार भएका थिए। प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। मंगलबार घटना मिलापत्रमा टुंग्याउने भनेर प्रहरीले बोलाएपछि उनी गाउँ आएका थिए। त्यहीबेला प्रहरीले साउँदलाई पक्राउ गरेको हो।

विद्यालयमा पुगेर ती युवकले सुरूमा आफूसँग निहुँ खोजेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय साउँदले बताए।

‘कार्यक्रम भएकाले म पनि विद्यालयमै थिएँ, ऊ मादक पदार्थ सेवन गरेर आएर तिमीहरू सबैलाई काट्छु भन्यो, म बसेको कुर्सिमा लात्तिले पनि हान्यो,’ अध्यक्ष साउँदले भने, ‘ऊ मेरो आफ्नो भतिजो पनि पर्ने भएकाले म खासै बोलिनँ, मदिरा सेवन गरेकोसँग प्रतिवाद गर्न पनि अप्ठ्यारो लाग्यो। तिमीहरूलाई काट्छु भनेपछि म्याडमले ‘किन काट्ने होर बाबु’ भनेर भन्नुभएको थियो, त्यतिबेलै ऊ गाउँमा गएर कसको घरबाट हँसिया लिएर आइसकेछ।’

छवि साउँद यसरी आउनुको कारणबारे भने आफूलाई थाहा नभएको उनले बताए।

‘उसले अघि पनि गाउँमा यस्तै झगडा गरिरहन्थ्यो, उसले सुरूमा मसँगै निहुँ खोजेको बुझिएको छ, तर कारण के हो भन्ने मलाई नै थाहा छैन।’ साउँदले भने।

बुधबार प्रहरीले पक्राउ गरेपछि युवकको परिवारबाट धम्की आइरहेको उनले बताए।

कार्यक्रम भइरहेका बेला मदिरा सेवन गरेर विद्यालय पुगेका ती युवकले ‘विद्यार्थीलाई राम्रोसँग नपढाउने, म तिमीलाई काट्छु’ भन्दै गएपछि भनाभन सुरू भएको चौकुने–१ का वडाध्यक्ष जिरक बडुवालले बताए।

‘सुरुमा अध्यक्ष र प्रअसँग भनाभन भएको रहेछ, विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक भएका बेला ऊ मदिरा सेवन गरेर उनीहरूलाई काट्छु भन्दै त्यहाँ गएको मलाई सुनाएका छन्,’ बडुवालले भने, ‘स्थानीय प्रहरी कार्यालयमा एक चरणको छलफल भयो, अब जाहेरी दिने जिल्लामै जानुपर्ने भएको छ।’

ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक विनोद सुवेदीले घटनामा संलग्नलाई पक्राउ गरेर पीडितलाई जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताए।

सेतोपाटीबाट