☰ open Loading... 6 May 2025|  

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते
पश्चिम नेपाल   | ५ आश्विन २०८०, शुक्रबार १२:३५

सुर्खेत । बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा कपिलवस्तु घर भएका १८ वर्षका सुलभ केसीको मृत्यु भएको हो ।

बिहिबार राती सुधार गृहमा दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतक केसी बालसुधार गृहमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते आएका थिए । उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए ।

बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले बताए ।

झडपमा १० जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था सामान्य रहेको र अन्य ६ जना मध्यम घाइते भएको प्रहरीको भनाई रहेको छ ।