☰ open Loading... 14 March 2025|  

१२० किलो गाँजासहित ६ जना पक्राउ
पश्चिम नेपाल   | १३ आश्विन २०८०, शनिबार १८:२७

सुनसरी बराहक्षेत्र वडा नं. १ मा रहेको चतरा पुलबाट सशस्त्र प्रहरी टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा १२० किलो गाँजासहित छ जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बर प्लेट बीआर ०२ आर ९९९४ नम्बरको सुमो गोल्ड सवारीको सिट मुनी ‘फल्स बटन’ बनाएर राखेको अवस्थामा विशेष सुराकीका आधारमा चेकजाँच गर्दा फेला पारिएको कोशी प्रदेशस्तरीय सशस्त्र प्रहरी बलको मुख्यालय पकली सुनसरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सशस्त्र प्रहरीले भारत अररिया वतनाहका २६ वर्षे महमद सिराज (सवारी चालक), अररिया फेनाका २० वर्षे अस्ताजु आलम, सोही ठाउँका १९ वर्षे निशम आलम र सुनसरी देवानगञ्ज वडा नं. ५ का शिवमकुमार साहलाई गाँजा कारोबारीमा संलग्न भएको आरोपमा पक्राउ गरेको जनाएको छ।

यस्तै, भारत अररिया शहर्साका ५२ वर्षे ओमप्रकाश रजक र सुनसरी देवानगञ्ज वडा नं. ५ का ३१ वर्षे ओमप्रकाश साहलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कर्णजितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सशस्त्र प्रहरीका एसपी विक्रम होमागाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा स्कर्टिङ् गर्दै गरेको प्रदेश १–०२–०५०–प ६३०४ नम्बरको मोटरसाइकलसहित नेपाली रुपैयाँ आठ हजार ५६०, भारतीय रुपैयाँ एक हजार ७४० र ६ वटा मोबाइल पनि बरामद गरेको छ।

यसअघि पनि सप्तकोशीको पूर्वी तटीय क्षेत्रबाट जनकपुर लादै गरेको २१७ केजी गाँजा सुनसरी कोशी गाउँपालिका वडा नं. ३ बाट सशस्त्र प्रहरीले बरामद गरेको थियो। त्यो बेला एक हजार पाँच केजी तरकारी रहेको पिकअपको मुनी गाँजा भेटिएको थियो।

पछिल्लो समय सप्तकोसी नदीको पूर्वी तटबन्धको बाटो हुँदै भारत लादा होस् वा देशभरका विभिन्न स्थानमा गाँजा लाने क्रममा सप्तकोशीको पूर्वी तटबन्धको रुट प्रयोग गर्ने गरिएको छ। यही रुट प्रयोग गरेर भारत गाँजा लाने क्रममा थुप्रै पटक प्रहरीले बरामद गरेको पनि छ।

पूर्वी पहाडी जिल्ला भोजपुर, धनकुटालगायतका स्थानमा अवैध खेती गरेर उत्पादन गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नका लागि सप्तकोशी नदीको पूर्वी तटीय क्षेत्र वा जलमार्ग प्रयोग गर्ने गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको रेकर्डमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम बढेर जनजीवन तहसनहस भएको बेला समेत लागू औषध कारोबारीले सप्तकोशी नदीको पूर्वी तटबन्धको रुट प्रयोग गरेका थिए। सप्तकोसी पूर्वी तटबन्धको नाका पहाडी जिल्लामा उत्पादित गाँजा भारतसँगै देशभरका विभिन्न स्थानमा पुर्‍याउन र भारतबाट लागू औषध भित्र्याउने समूहले प्रयोग गर्ने गरेका छन्।

लागू औषध प्रयोगकर्ताको हिसाबले काठमाडौँपछि सुनसरी देशकै दोस्रो ठुलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागू औषध नेपाल भित्र्याउने गरेको प्रहरीले जनाएको छ।